उदयपुर ,२३ बैशाख । चट्याङ लागेर उदयपुर र तेहथुममा गरि दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको उदयपुरस्थित कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगर रहेको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए ।
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । ’साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्’, वडाध्यक्ष तामाङले भने, ’खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन् ।’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिए ।
यसैगरि, तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा चट्याङ लागेर सोमबार स्थानीय ४५ वर्षीय सागर थिङ्लाबूको मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिका प्रहरी निरीक्षक दीपक गौतमले जानकारी दिए ।
थिङ्लाबूलाई सोमबार अपरान्ह साढे तीनबजे परेको चट्याङ लागेको थियो । आठराई–३ ह्वाकुमा माङहिम (मन्दिर)बनाउन खटिरहेका थिङ्लाबुलाई मेघगर्जनसहित चट्याङ लागेको थियो ।
चट्याङले लाग्दा घाइते भएका उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइ पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।