कांग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस : प्रधानमन्त्री देउवा

विराटनगर,२१ बैशाख । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको बताएका छन् ।
विराटनगरमा बुधबार कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गरे ।
‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ यो राष्ट्रिय आवश्यकताअनुसार बनेको हो,’ उनले भने, ‘गठबन्धनलाई धोका दिनु हुन्न, कांग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस ।’ तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आतंकित पारेका बेला’गठबन्धन बनेको पनि देउवाले बताए ।

आफू यसपालि नचाहँदा नचाहँदै प्रधानमन्त्री बनेको र गठबन्धनबाट प्रधानमन्त्री बन्न सम्भव भएकोले धोका दिन नहुने देउवाको भनाइ थियो । ‘मलाई प्रधानमन्त्री बन्ने रहर नै थिएन,’ उनले भने, ‘गठबन्धनका साथीहरूले सहयोग गरेपछि प्रधानमन्त्री बनेको हो। त्यसबेला ओलीको खिलापमा बोल्न र लेख्न मानिसहरू डराउथे। पत्रकारहरू डराउथे।’

उनले गठबन्धन राष्ट्रिय आवश्कता भएकोले यसमा शंका हुने गतिविधि नगर्न उनले आग्रह गरेका थिए।‘कांग्रेस पार्टीले कसैलाई धोका दिँदैन है, कांग्रेसको टाउकोमा धोकेबाज भन्ने आरोप नलागोस’ देउवाले भने, ‘हाम्रो एक्लै बहुमत छैन् । कसैसँग मिल्नै परयो, कसैलाई चित्त नबुझ्ला, उचाल्ने र पछार्ने काम छैन् । कुनै हालतमा गठबन्धनलाई धोका दिन हुन्न।’ प्रधानमन्त्री देउवाले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिइने पनि बताए ।
‘हामीले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिने भनेको हो, के गर्ने ओलीजीले मान्नुभएन,’ उनले भने, ‘हामीले जित्यौं भने अब यो लागू हुन्छ।’ उनले स्थानीय सरकारलाई काम गर्न सक्ने गरी सक्षम बनाइनुपर्ने पनि बताए । ‘आफ्नो ठाउँको विकास आफैँ गर्न सक्ने गरी स्थानीय सरकारलाई सक्षम बनाउनुपर्छ,’ उनले भनेका छन् ।

विराटनगर महानगरमा सत्तागठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन् । उनले कोइराला काम गर्न सक्ने व्यक्ति भएकोले मेयरमा जिताउन पनि आग्रह गरेका थिए । देउवाले भने, –‘मेयरमा नागेश र उपमेयरमा जसपाको छाता चिन्हलाई भोट हाल्नुहोला ।’

सोही क्रममा कांग्रेसका नेता रामचन्द्र पौडेलले पाँच दलको गठबन्धन लोकतन्त्र र संविधानको रक्षाको लागि गरिएको बताए।

लोकतन्त्रमा गठबन्धनलाई नौलो मान्न नहुनेमा जोड दिएका नेता पौडेलले विगत २०४६ सालको जनआन्दोलन, बिस्तृत शान्ति सम्झौताबाट नै गठबन्धनले औपचारिकता पाएको उल्लेख गरे। आमसभालाई सम्बोधन गर्दै पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ब्यङ्ग्य गर्न समेत भ्याए।

उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा अस्थिरता ल्याएको हो। तर, वितेका अस्थितरता चिर्न अब कांग्रेसलाई स्थानीय तहमा जिताउनुको विकल्प छैन। स्थानीय तहमा कांग्रेसले राम्रो काम गरेको छ। त्यसलाई बिर्सन हुदैन।’

निर्वाचनका सन्र्दभमा उनले रुख र छाता दुवै शीतलता र सुरक्षा दिने हुँदा दुवैको संयोग राम्रो रहेको बताए। राजनीतिक सन्देश दिने थलोको रुपमा विराटनगर रहेको बताउँदै नेता पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउन सबैले सहयोग गर्नुपर्ने बताए।

त्यसैगरि, कांग्रेसका नेता डा। शेखर कोइरालाले विगतमा एमाले सरकारले जनतालाई समस्या, दुःख मात्र दिएको आरोप लगाए। एमालेले संविधान मास्ने काम गरेका बताएका डा। कोइरालाले त्यसबाट जोगाउन गठबन्धनमा रहेको कांग्रेसलाई स्थानीय तह निर्वाचनमा जिताउन आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘यसपटकको स्थानीय तहको निर्वाचनले धेरै कुरा इंगित गर्नेछ। यसपटकको निर्वाचनले प्रदेश र संघमा समेत प्रभाव पार्नेछ। लोकतन्त्रको रक्षाका लागि भएपनि कांग्रेससहित गठबन्धनलाई जिताउनुपर्छ।’

कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, महेश आचार्य, डा.मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य डिना उपाध्याय, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published.