
कमल,२० बैशाख । कमलमा नेपाली कांग्रेस नेतृत्वको संयुक्त गठबन्धनले आज कमल ७ स्थित गेउरियामा बृहत चुनावी सभा गरेको छ । संयुक्त गठबन्धनले आफनो चुनावी अभियान अन्तर्गत गेउरियामा गाउँपालिकाका विभिन्न वडाबाट समर्थक, शुभेच्छुकहरुको उपस्थितिमा चुनावी सभा गरेको हो ।
चुनावी सभामा हजारौंको संख्यामा सर्वसाधारणहरु सहभागि भएका थिए ।सभालाई सम्बोधन गर्दै कमल गाउँपालिका अध्यक्षका प्रत्यासी तथा नेपाली कांग्रेसका युवा नेता हुकुमसिंह राईले कमलबासीले दुई दश भन्दा बढी समय एउटै मात्रै दलको नेतृत्व पाएको स्मरण गर्दै सन्तुलित बिकास , समानता र न्यायका निम्ति यसपटक नेतृत्व परिवर्तनको चाहना राखेको दाबी गरे ।
उनले अघिल्लो निर्वाचन ताका आफू अध्यक्षको पदबाट बाहिरिँदै गर्दा पालिका नेतृत्वलाई बधाई दिएर कमलबासीको साझा अभिभावक बन्न आग्रह गरेको तर गाउँपालिकाबासीले पाँच बर्षे कार्यकालमा त्यो अनूभुति गर्न नपाएको भन्दै दुख व्यक्त गरे । राज्यबाट प्राप्त हुने अनुदान, सेवा सुविधाहरु पाउनैपर्ने सर्वसाधारणलाई समेत राजनीतिक आग्रह पूर्वाग्रह राखेर तत्कालिन जनप्रतिनिधिहरुले बहुमतको दम्भ देखाउँदै आफना आफन्तहरुको मात्रै पालनपोषण बनाउन लागिपरेकाले कमलबासीले यसपटक बिकल्प खोजेको तर्क गरे ।
चुनावी सभालाई गाउँपालिका उपाध्यक्षका प्रत्यासी पर्शुराम सुवेदीले संघीयता र गणतन्त्र नेपाली जनताको त्याग र सहिदहरुको बलिदानीबाट प्राप्त भएको भन्दै त्यसको नेतृत्व परिवर्तनकारी शक्तिहरुले गरेको बताए । उनले कमलमा सबै परिवर्तनकारी शक्तिहरु एकजुट भएको चर्चा गर्दै यहाँको अवस्था परिवर्तन गर्न अब संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुको बिकल्प नभएको पनि दाबी गरे । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, लिम्बुवान, एकीकृत समाजवादी लगायतका केन्द्रीय नेताहरुले पनि सम्बोधन गरेका थिए ।
दमकका वडा वडामा घरदैलो

त्यसैगरी दमकमा राप्रपाको नेतृत्वमा कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवारहरुको घरदैलो कार्यक्रम आज दमक ९ मा सञ्चालन गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी संघीय संसदकी सदस्य महेन्द्रकुमारी लिम्बुको नेतृत्वमा दमक ९ गुम्बाचोकबाट मेयरका प्रत्यासी राम थापा, उपमेयरकी प्रत्यासी रेगिना भट्टराई प्रसाइँ, वडाध्यक्षका प्रत्यासी नगेन्द्र घोर्साइसहित वडा सदस्यका उम्मेदवारहरु गठबन्धन दलका नेता, कार्यकर्ताहरु, समर्थक, शुभेच्छुकहरुसहितको समूहले वडा नं ९ को विभिन्न भागमा परिक्रमा गर्दै घरदैलो सञ्चालन गरेको कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँले जानकारी दिए । त्यसैगरी दमक ४ मा वडाध्यक्षका प्रत्यासी पुण्य दाहालसहित गठबन्धनका उम्मेदवार तथा आवद्ध दलका नेता, कार्यकर्ताहरु संलग्न भई घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका कांग्रेसका दमक नगर सचिव दिपेश दाहालले जानकारी दिए ।