दमक,१९ बैशाख । झापामा चारसहित प्रदेश नं १ का विभिन्न जिल्लामा कार्यरत १० जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशले झापाका ४, मोरङका ३, सुनसरी, खोटाङ र ओखलढुंगाका १र १ जना पत्रकारमा कोरोना संक्रमण भएको जनाएको हो । महासंघका १ नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमले संक्रमणको विस्तार तीब्र रहेकोले पूर्वसतर्कता र सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय तथा मापदण्डहरु अवलम्बन गरेर काम गर्ने वातावरण सिर्जना गर्न सञ्चारगृहहरुलाई आग्रह आग्रह गरिएको छ ।
महासंघले कारोना संक्रमणको बहानामा श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता कार्य नगर्न तथा पत्रकारको पारिश्रमिक वापतको बाँकी बक्यौता रकम तत्काल भुक्तानी दिन सञ्चार गृहहरुलाई आग्रह पनि गरेको छ ।
कोभिड -१९ को दोस्रो लहरबाट प्रभावित भएका पत्रकारको उपचार, समस्यामा परेका पत्रकारहरुलाई सहयोगको लागि समन्वय र आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री व्यवस्थापनको लागि शाखासँगको समन्वयमा पहल गर्न प्रदेश समिति उपाध्यक्ष लबदेव ढुंगानाको संयोजकत्वमा सचिब देवेन्द्र कार्की, कोषाध्यक्ष विमल लामिछाने, सदस्य ध्रुब भट्टराई र शुशिला पाठक रहेको रेस्पोन्स समिति गठन गरिएको पनि महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै कोभिड १९ को दोस्रो लहरले पत्रकारको पेशागत सुरक्षामा परेको असर तथा श्रमसँग जोडिएका विभिन्न समस्याको बारेमा शाखासँगको समन्वयमा रिपोर्ट संकलन र समस्या समाधानको पहल गर्न उपाध्यक्ष हिमाकुमारी चेम्जोङको संयोजकत्वमा सचिब सन्तोष यादव, तथा सदस्यहरु गोपालप्रसाद पोखरेल, लिलाराज झापाली, विनु तिम्सना र माला पालुङ्वा रहेको समिति गठन गरिएको छ ।
कोरोना भाइरसको संक्रमण सुरु भएपछि शाखाहरुमा रहेका पत्रकारको अवस्था, संक्रमणको अवस्थाकाबारे नियमित रिपोर्ट पठाउन शाखाहरुलाई निर्देशन गरिएको छ । कोरोना संक्रमित भएका र कोरोनाको कारण समस्यामा परेका परेका पत्रकारहरुको सहयोगको लागि पूर्वतयारी गर्न पनि आग्रह गर्नुका साथै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन, खोपको व्यवस्था गर्न, पिसिआर परीक्षणको सहज व्यवस्थापन गर्न र संक्रमित पत्रकारहरुलाई सहज रुपमा निःशुल्क उपचारको प्रबन्ध गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
जोखिमपूर्ण अवस्थामा पनि नागरिकको सुुसुचित हुने अधिकार रक्षाको लागि खटिएका श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियतको व्यवस्था गर्न तीनै तहको सरकारसँग महासंघले माग गरेको छ ।