इटहरी ,१९ बैशाख । सुनसरीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगरा गाउँपालिका–७ का २५ वर्षीय सजाद अन्सारीलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार अन्सारीलाई बिहीबार दिउँसो ३ः३० बजेतिर पक्राउ गरिएको हो ।
अन्सारीसँग स्थानीय सारिक जटको विवाद भएको थियो । विवादका क्रममा अन्सारीले पेस्तोल देखाएर जटलाई तर्साउन खोजेको पाइएको डीएसपी खतिवडाले बताए ।
उनका अनुसार २ जनाको विवाद हुँदा पेस्तोल निकालेको जानकारी प्राप्त हुनसाथ अन्सारीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।अन्सारीलाई पक्राउ गर्न प्रहरी चौकी घुस्की, जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल बीओपी घुस्कीको टोली परिचालन भएको थियो । उनलाई स्थानीयको सहयोगमा कटुवा पेस्तोलसहित पक्राउ गरिएको खतिवडाले बताए । पक्राउ परेका अन्सारी विरुद्ध हातहतियार खरखजना मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।