
दमक,१८ बैशाख । कमलमा छ दलीय गठबन्धन दलले आइतवार कमल २ मा वृहत चुनावी रयाली निकालेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस, संघीय लिम्बूवान पार्टी,राष्ट्रिय जनमुक्ति पार्टीसहितको गठबन्धनले चुनावी रयाली निकालेको हो ।
संयुक्त निर्वाचन प्रचार प्रसार समितिले वडाका क्याम्पा,समयगढ,सुनारा लगायतका स्थानहरुमा रयाली निकाल्नुका संक्षिप्त चुनावी कोणसभा गरिएको थियो । रयालीमा गठबन्धनबाट अध्यक्षका उम्मेदवार हुकुमसिंह राई, उपाध्यक्ष पर्शुराम सुवेदी, वडाअध्यक्षका उम्मेदवार अशोक लिम्बूसहित वडा सदस्यका उम्मेद्वारहरु, स्थानीय वडाबासीहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
यस्तै, कमलका सात वटै वडामा समेत गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रम जारी राखेका छन् । तीनदिनदेखि उनीहरुले मतदाताको घर घरमै मत माग्ने कार्यलाई तीव्र बनाउदै आएको संयुक्त निर्वाचन परिचालन समितिका सचिव धर्मानन्द भट्टराईले बताए । उनका अनुसार संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष,उपाध्यक्षसहितका उम्मेदवारहरुको उपस्थितिमा कमल ३ मा सोमबार घरदैलो कार्यक्रम सञ्चालन गरिने छन् । घरदैलोका क्रममा उम्मेदवारसमक्ष मतदाताहरुले बर्षोदेखि एकक्षत्र सत्ताबाट जनता आजित भएकाले यसपटक परिवर्तन र रुपान्तरणका पक्षमा उभिएको गठबन्धनलाई साथ दिने प्रतिवद्धता जनाएका छन् ।
यसैगरि, एमाले कमलले पनि आसन्न निर्वाचन आफना पक्षमा पार्न चुनावी अभियान तीव्र बनाएका छन् । यसैक्रममा कमलका सात वटै वडामा उम्मेदवारसहितको घरदैलो कार्यक्रम सञ्चालन गरिआएका छन् । त्यस्तै, अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरुले पनि वडावडामा घरदैलो कार्यक्रम गरिआएका छन् ।

