दमक,१८ बैशाख । १३६ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसर पारेर विहिबार दमकमा आयोजित रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ ।नेपाल यातायात मजदुर संघ हलुका सवारी ईकाइ समिति दमकले बसपार्क हातामा आयोजना गरेको रक्तदानमा एक महिलासहित ४३ जनाले रगत दिएका छन् ।
रक्तदानमा संस्थाका अध्यक्ष खड्ग पाण्डे, ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक जनक तिम्सिना लगायतले रगतदान गरेका उपाध्यक्ष भिम पौडेलले बताए । नेपाली कांग्रेस झापा क्षेत्र न. ५ का सभापति ढुण्डिराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक ६ का वडा अध्यक्ष टेकबहादुर थापा,दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई,ईलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम,दमक बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गंगा सिटौला,नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य डार्विन संग्रौला, कोशी प्रदेश उपाध्यक्ष गान्धी प्रसाद भण्डारी,प्रदेश सदस्य गौतम कुमार लामा लगायत मजदुरहरुको उपस्थिति रहेको थियो ।
हलुका सवारी इकाई समितिले बर्षेनी मजदुर दिवसका दिन रक्तदान जीवनदान भन्ने नाराका साथ रक्तदान कार्यक्रम गरिआएको छ ।सोहि अवसरमा संस्थाले ट्राफिक प्रहरी कार्यालय दमकलाई १० थान सांकेतिक बेल्ट प्रदान गर्नुका साथैं सडक दुर्घटना न्यूनीकरण सम्बन्धी सवारी चालक तथा यात्रीहरुलाई जनचेतनामूलक प्रशिक्षण कार्यक्रम समेत गरिएको अध्यक्ष पाण्डेले बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईले यातायात मजदुर तथा चालकहरुले सवारी नियमका बारेमा अनुशिक्षण गराएका थिए ।
दमक रेडक्रसको प्राबिधिक सहयोगमा भएको रक्तदानमा सहभागिहरुलाई शिरीष,जामुना,अम्बक लगायतको बिरुवा हस्तान्तरण गरिएको संस्थाका सचिव डिल्ली प्रसाद अधिकारीले जानकारी दिए ।