झापा,१६ बैशाख । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू २७ दिनदेखि सडक आन्दोलनमा छन् ।शिक्षकहरूले आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले गत २० चैतदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै आएका हुन् ।
आन्दोलनको २६औं दिन(आइतबार) प्रहरीले बल प्रयोग गर्दा ६३ जना शिक्षक घाइते भएपछि सोमबारबाट शिक्षकहरूले आन्दोलन चर्काएका छन् । प्रहरीको दमनपछि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनमा घरमै बसेका शिक्षकलाई तत्काल आउन आह्वान गरेको थियो । सोहीअनुसार सोमबार थप शिक्षकहरू आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले बताएको छ । प्रहरीसँगको झडपका कारण अझै घाईते १२ जना शिक्षक अहिले पनि अस्पतालमा उपचाररत छन् ।
सडक प्रदर्शनरत नेपाल शिक्षक महासंघले त्यसखाले दमनको विरोधमा आफूहरुलाई समर्थन गर्न सबै पेशागत संस्था, शिक्षा सरोकार समूह एवं सबै नेपालीलाई अपील गरेको छ । २५ दिन सम्म शान्तिपूर्ण रुपमा जारी सडक प्रदर्शनको २६ औं दिनमा केही शिक्षकले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्दा आइतबार प्रहरीले धरपकड गरेको थियो ।
यसैक्रममा काठमाण्डौमा शिक्षकहरुको आन्दोलनमा भएको धरपकड र दमनको विरुद्धमा उनीहरुले झापा जिल्लाभरि प्रदर्शन गरेका छन् । अर्जुनधारा–८ शनिश्चरे बजारको मुख्य चोक र दमक–६ स्थित गणतन्त्र चोकमा बिभिन्न नारासहित शिक्षकहरुले बिरोध प्रदर्शन गरेका हुन् ।नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिका अध्यक्ष चन्द्र खत्रीको नेतृत्वमा र्याली निकालिएको थियो ।
यसैगरी दमकमा दमक, गौरादह नगरपालिका, गौरीगञ्ज र कमल गाउँपालिकाको संयुक्त आयोजनामा नेपाल शिक्षक महासंघ दमक नगर समितिका कार्यवाहक अध्यक्ष रघुनाथ भण्डारीको अध्यक्षतामा बिभिन्न नारासहित बिरोध प्रदर्शन गरेका थिए । स्थानीय वरपिपल चौंकमा आयोजित विरोधसभामा नेपाल शिक्षक महासंघ कमलका अध्यक्ष मोहन बगाले लगायतका अगुवाहरुले शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने उल्लेख गरे । उनीहरूले सरकारको लाठी, पानीको फोहोरा, प्रहरी बुटसमेत पचाइसकेको भन्दै गोली खानसमेत तयार रहेको उल्लेख गरेका छन् ।
त्यस्तै नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिको आयोजनामा २८ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, बालशिक्षक, शिक्षक आवद्ध संस्थाहरुको सहभागितामा नाराबाजीसहित नगर परिक्रमा गरि शनिश्चरे बजारको जेष्ठ नागरिक चौतारीमा कोणसभामा परिणत भएको थियो ।यसक्रममा बिर्तामोडको पश्चिम बस स्टेण्ड अगाडि नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिको आयोजनामा उनीहरुले प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासंघका बिर्तामोड नगर अध्यक्ष युवराज कट्टेलको नेतृत्वमा करिब ३ सय जना शिक्षकहरु भेला भई काठमाण्डौमा शिक्षकहरुको आन्दोलनमा भएको धरपकड र दमनको विरुद्धमा “सरकार तेरो पाराले दुःख पाए साराले, शिक्षक , कर्मचारी एकता जिन्दावाद, प्रहरी दमन मुर्दावाद, विद्यालय शिक्षा ऐन जारी गर, चाँडोभन्दा चाँडो विद्यालय खोल्ने वातावरण तयार गर, नेपाल शिक्षक महासंघ जिन्दावाद ”जस्ता नाराहरु लगाउँदै प्लेकार्ड बोकेर बिरोध गरेका थिए । उक्त र्याली मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
वार्ता निष्कर्षविहीन,आज पनि आन्दोलन जारी राख्ने
सरकार र आन्दोलनरत शिक्षकबीच सोमबार राति शिक्षा मन्त्रालयमा भएको वार्ता पनि निष्कर्षविहीन रूपमा टुंगिएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा सिंहदरबारमा बसेको छलफलले ठोस सहमति निकाल्न नसके पनि संवादलाई निरन्तरता दिने सहमति भएको हो ।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ,’ उनले भने ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । ‘मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘हामी भर्खरै मन्त्रालयबाट बाहिरआयौँ । हाम्रो आन्दोलन जारी छ ।’
सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो ।शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ । शिक्षकहरू माग पूरा नभएसम्म विद्यालय नफर्कने अडानमा छन् । अदालतले बालबालिकाको अधिकार र शिक्षाको नैसर्गिक अधिकारबाट बालबालिका तथा विद्यार्थीलाई वञ्चित गर्न नहुने भन्दै पठनपाठनको वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको थियो ।