पाँचथर,१५ बैशाख । पाँचथरको फालेलुङ–६ का शान्तकुमार राईले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछि आत्महत्या गरेका छन् । ५७ वर्षीय राईले ५६ वर्षीय श्रीमती बिमरानीलाई खुकुरी प्रहार गरेर घाइते बनाएपछि नजिकैको जंगलमा गएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आफनो आमाको गत चैत १३ भएकोमा मूलघरमा किरियामा बसेका बेला पिसाब फेर्न जाने बहाना बनाएर आफ्नो घर गई श्रीमतीलाई बिहीबार अपराह्न खुकुरी प्रहार गरेका थिए ।
पिसाब फेर्न गएका शान्तकुमार घर नफर्केपछि श्रीमतीलाई रगतपक्षे भेटेका स्थानीयले सोधपुछ गर्दा उनले श्रीमती बिमरानीलाई खुकुरी प्रहार गरेको स्वीकार गरेका थिए । त्यसपछि खोजी गर्दै जाादा घर नजिकै रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याउनका साथै घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पु¥याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिमरानी सख्त घाइते भएकी छन् । उनले श्रीमतीलाई हत्या गर्ने मनसायले नै खुकुरी प्रहार गरेको र मृत्यु भएको ठानेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।