
दमक,१५ बैशाख । झापा, कमल गाउँपालिका ५ मंगलवारे घरभएका दुर्गा नेम्बाङ रोजगारीका लागि २०५८ माघ २ गते भारतको असाम गएर बेखबर भएको २६ बर्षपछि दुई दिन अघि मात्र आफना गाउँठाँउमा सकुशल आइपुगे । श्रीमतीसहित दुई छोरा, चार छोरी र बुबा चन्द्रध्वजलाई छाडेर गएका उनको अवस्था करिव २६ वर्ष बढी अत्तोपतो हुन सकेको थिएन । त्यसवीचमा उनको श्रीमती दिलमाया, बुबा चन्द्रध्वज र दाजु कुमारको नै मृत्युभईसकेको थियो ।
कमाउन भारत छिरेका उनी बेखबर भएपछि परिवारले खोजतलास गर्ने प्रयास नगरेको होइन् । तर लामो खोजतलास गरिएपनि सम्पर्क हुन नसक्दा नेम्बाङ परिवार पिरलोको चपेटामा थियो । घरमुली लापत्ता भएपछि उनको परिवार आफनो जातथलो छाडेर परिवारको पालनपोषण गर्न काठमाण्डौ तिर गएको थियो । उतै,उनको श्रीमतीको २०७१ सालमा मृत्युभएको थियो ।
तर बेखबर दुर्गा उतै जिवीतै भएको भन्ने खबरआएपछि २६ बर्षपछि परिवारसंग उनको भेट भएको छ । ५ दिन अघि झापा, चन्द्रगढीका पाष्टर डेविट पौडेलको माध्यमबाट वेपत्ता उनी परिवारलाई भेट्न सफल भए । घर छाढेर परदेशिएका उनको उमेर अहिले ७२ भईसक्यो । ४५ वर्षको लक्का जवानमा भारत छिरेका दुर्गा अहिले पाको उमेरमा ढल्किसकेका छन् । मंगलवारे घरमा छोरा राजेन्द्र र छोरी शान्तिसंग भेटिएका उनी करिव २६ बर्ष पछि छोराछोरीसंग भेटन सफल भएका छन् । परिवारका छोराछोरीसंग भेट्न पाउदाँ हर्षित भएका उनले भने , –‘कहिल्यै सोचेको थिएन, उतै मर्छु होला जस्तो लागेको थियो । तर भाग्यले साथ दिदाँ अवश्य इच्छाएको पूरा हुदोरहेछ । ’
शुरुमा भारतको नागलैण्डमा बसेपनि कामको सिलासिलामा उनी आसामतिरै भासिएका थिए । आफना कथाव्यथा सुनाउदै उनले आसाममा काम गर्दे जीवन गुजारा गरिबस्दा त्यहीका एक महिलासंग बिबाह गर्न बाँध्य भए । उता पटिपनि एउटा छोरा भएको सुनाउदै उनले त्यसरीनै दिन वित्यो, समय वितेको पत्तो नभएको बताए । दैनिक रोजीरोटीले गर्दा परिवारनै भुल्न पुगेको उनको भनाई थियो । दिमागमा परिवारनै विर्सिन पुगेको भन्दै उनले भने , –‘मुङलान पसेका आफू नेपालमा आफनो परिवार भएपनि उतै रनभुल्लमा थिए, तर पछि क्रिश्चियन धर्मका कारण परिवार भेट्नु पर्छ भन्ने दिमाग आयो ।’ उनले क्रिश्चियन धर्म प्रचारक मार्फत आफना परिवारसंगको सम्पर्कका कारण आफू यहाँ आउन सकेको सुनाए ।
उहाँका छोरी शान्तिले त्यतिका बर्षसम्म लापत्ता हुनुभएका बुबाको सास न आस पाउन कहिल्यै नसोचेको बताउँछिन् । काठमाण्डौबाट बुबा लिन आएका उनले भने , –‘हामीले कल्पना गरेका पनि थिएनौ, बुबा भेटिएला भनेर । तर, भगवानले साथ दिदाँ यसरी भेट्न सकिदो रहेछ । ’ आमा जिवीतै हुदाँ बुबा खोज्न कयौपटक त्यहाँ पुगेपनि पत्तो नभएको उनले सुनाए ।
सम्पर्कका प्रयास पटक पटक गर्दा समेत असफल भएपछि बुबानै मायामारि सकेको छोरा राजेन्द्रले बताए । उनले भने ,–‘ उहाँ घर आउने कुनै छाटकाट थिएन् । यति लामो समयपछि बाबुलाई भेट्दा आफूहरु अत्यन्त खुशी छौं ।’
यसैवीच , दुर्गाले आइतवार दिवंगत पितासहित श्रीमती र दाजुको एकैसाथ काजक्रिया गरेका छन् । लिम्बू समुदायका फेदाङबाको मुन्धुमी अगुवाईमा उनले दिवंगत पितृको एकैपटक आफनो धर्म,संस्कृति अनुसार काजक्रिया गरिएको थियो । काजक्रियामा नेम्बाङ परिवार,दाजुभाई, छरछिमेकीको उपस्थिति थियो ।
दुर्गाकी बुहारी नर्वदा लिम्बूले सामाजिक सञ्जालमार्फत वेपत्ता दाजु भेटिएको बताईन् । सामाजिक सञ्जाल फेसबुक मार्फत दाजुलाई परिवारसंगको सम्पर्कमा ल्याउन सकिएको उनले सुनाइन् । उनले भनिन् , –‘दाजु भेटिएसंगै परिवारमा खुसी छाएको छ । यसले परिवारिक मिलन गराएको छ’
उनका अनुसार दुर्गासंगै उनकै आफनै भाई चिण्डे र इलाम , महमाईका आफन्त बुद्धहाङ नेम्बाङ पनि तीन दशक बढी समयदेखि बेखबर छन् । उनीहरु पनि भारतमा कोइला खानीमा काम गर्न भनी जानुभएपनि अझैसम्म बेखबर हुदाँ परिवारमा पिरोलो उस्तै भएको नवर्दाले बताईन् । बुद्धहाङ भाई मंगलसिंहले दाजु भारत तिर काम खोज्न गएपनि हालसम्म उनको अवस्था अज्ञात हुदाँ परिवारमा पीडा भईरहेको सुनाउँछिन् । ‘हामीले दाजुको खोजलासका प्रयास गरेउ, तर कतै भटिएन’ क्यान्सर रोगी बृद्ध बुबा कमाउन गएका छोरा घर नफर्किएपछि बर्षोदेखिको पीडा हट्न नसकेको गुनासो गरिआएको उनले बताएका छन् । कमाउन हिडेका छोरा बुद्धहांगको स्थिति अहिलेसम्म पाउन नसक्दा हामी सधैभरि पीडामा बस्न बाँध्य हुनुपरेको उनले बताए । वेपत्तन दाजुको फोटो देखाँउदै मंगलले थपे –‘हाम्रो पीडा बर्षोदेखिको छ, उनको खोजतलासमा सहयोग पुरयाँईदिन हुन अनुरोध गर्दछौ ।’