झापाको बुद्धशान्तिमा ओलीमाथि आक्रमणको प्रयास, दुई पक्राउ

झापा,१३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मित्र लिङ्देन र बुलेट किराती राई रहेका छन् । पक्राउ परेका मध्ये लिङ्देन सन्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बूवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा नायक हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको बताईएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा आज आयोजित कार्यक्रममा कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास गरेका हुन् ।

आक्रमणबाट जोगाउन खोज्दा प्रहरीसंग झडप भएको छ । एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने पहिचानवादीहरुले हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक अनिल मावोहाङसहित दुई प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले एमाले अध्यक्षमाथि आक्रमण गर्न खोज्ने पहिचानवादीहरुलाई रोक्न खोज्दा प्रहरीसंग झडप भएको जानकारी दिए । घाइते प्रहरीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले आफूहरुको कालो झन्डा देखाउने कार्यक्रम रहेको र कार्यक्रम सकेर फर्किन लाग्दा युवा संघका कार्यकर्ताहरुले घुसपैठ गरी ढुंगा हानेको दावी गरे ।‘कालो झन्डा देखाएर पत्रकार सम्मेलनका लागि हामी फिर्न लागेका थियौं’ उनले भने,‘ त्यही बेला घुसपैठ भई ढुंगा हान्ने काम भएको हो ।’ ओली बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका थिए । ओलीलाई विरोध गर्न करिव तीन सयको संख्यामा पहिचानवादीहरु गएका थिए ।
यसैवीच, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर प्रहरीले पक्राउ गरेका आफना कार्यकर्तालाई विना सर्त रिहा गर्न माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.