टिकट बाँडफाँटपछि कांग्रेस झापामा असन्तुष्टि चुलियो


कांग्रेस त्यागेका दयानन्द गोश्वासी र शेरबहादुर थापा।

झापा ,१२ बैशाख । नेपाली कांग्रेस झापाका जिल्ला स्तरका केहि नेतृत्व तथा पूर्व नेतृत्वले पार्टीबाट राजीनामा दिन थालेका छन्। स्थानीय तहको चुनावका लागि टिकट बाँडफाँटमा लफडा हुँदै गएपछि पार्टीका पुराना नेता तथा कार्यकर्ताले राजीनामा दिनेको लहर चलेको छ ।

नेपाली कांग्रेस झापाका पुराना नेता एवम् महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामी सहित ६० जनाले संयुक्त रुपमा आइतबार राजीनामा दिइसकेका छन्। कांग्रेस झापाका पूर्व जिल्ला सचिव समेत रहेका गोश्वासीले कार्यकर्ताको भावना विपरित गठबन्धन गरेको भन्दै राजीनामा दिएको बताए।

बाह्रदशी गाउँपालिकामा घर भएका गोश्वामीसहितको टोलीले झापा जिल्ला सभापतिलाई सामुहिक राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउँदै उनले ४५ वर्षे कांग्रेसको राजनीति यात्राबाट सँधैका लागि पूर्ण विराम लगाएको घोषणा गरे। उनले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएको जानकारी दिए।

त्यस्तै नेपाली कांग्रेसबाट कनकाई नगरपालिकाको मेयरका आकांक्षी शेरबहादुर थापाले पनि पार्टी परित्याग गरेका छन्।उनले सामाजिक सञ्जालमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन्।नेपाली कांग्रेसबाट मेयरमा चुनाव लड्नका लागि उनले निकै ठूलो कसरत गरेका थिए।

थापाले भने, ‘कनकाईको मेयर म उठ्छु। पार्टीको बागी उम्मेदवार हुनु भन्दा पार्टी छोडेर स्वतन्त्र उठ्नु राम्रो हो नि।’ ०३७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय थापाले पार्टीमा लोभीपापीहरुको हावी भयो भन्दै परित्याग गरेका छन्। उनी निर्माण व्यवसायी समेत हुन्।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले पनि पुनः पार्टीबाट सोही गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट पाउने संकेत पाएपछि आइतबार राजीनामा दिएका थिए। तर पार्टीले पुनः उनलाई टिकट नदिने भएपछि उनी पनि रुष्ट बनेका छन्।

उनले भने, ‘यो अति भयो। अब के गर्ने भन्ने निर्णय छिट्टै गर्छौं।’ उता गौरीगन्जका पूराना नेता घनश्याम रिजालसहितका ५० जना नेता तथा कार्यकर्ताहरुले एक संयुक्त विज्ञप्ति जारी पार्टी भित्र विधि र प्रकृया भन्दा बाहिर गएर चुनावको लागि टिकट वितरण गरिएको भन्दै राजीनामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published.