दमकमा राप्रपाको नेतृत्वमा गठबन्धन गर्न सहमति जुट्यो

दमक,११ बैशाख । दमकमा लामो समयको रस्साकस्सीपछि सत्तारुढ गठबन्धन र राप्रपाबीच आसन्न स्थानीय निर्वाचनमा गठबन्धन गर्न सहमति जुटेको छ । बिहानैदेखि चलेको संवादपछि राप्रपाको नेतृत्वमा दमक नगरको निर्वाचनमा जाने सहमति भएको संवादमा सहभागी माओवादी केन्द्रका युवा नेता कर्म पूलामीले जानकारी दिए । उनका अनुसार दमकमा राप्रपाले नगर प्रमुखसहित २ वडाध्यक्ष, कांग्रेसले उपप्रमुखसहित चार वडाध्यक्ष र माओवादी केन्द्रले ४ वडाध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ । सहमति अनुसार दमक नगर प्रमुखमा राप्रपाका राम थापाको नेतृत्व रहनेछ भने उपप्रमुखमा कांग्र्रेसले उम्मेदवारी दिनेछ ।
कांग्रेसबाट उपप्रमुखमा दिने उम्मेदवारको नाम बाहिर आएको छैन । सहमति अनुसार राप्रपाले १ र ७ नम्बर वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिनेछ भने माओवादीले २, ६ , ८ र ९ नम्बर वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिनेछ । बाँकी चार वडामा कांग्रेसले वडाध्यक्षमा उम्मेदवारी दिनेछ । संवादमा कार्यपालिका सदस्यहरुको समेत बाँडफाँड गर्ने गरी संख्यामा सहमति भएको छ ।

संवादमा राप्रपाका तर्फबाट राम थापा, भिम पौडेल र विजय बरालसहितका नेताहरु सहभागी थिए भने कांग्रेसको तर्फबाट शेरबहादुर भट्टराई, ढुण्डीराज भण्डारी, प्रकाश प्रसाइँ लगायत सहभागी थिए । त्यस्तै माओवादी केन्द्रको तर्फबाट दुर्गा चौंलागाइँ, कर्म पूलामी , रवि बस्नेत लगायत सहभागी भएका बताइएको छ ।

Leave a Reply

Your email address will not be published.