मुख्यमन्त्रीको कारण अशान्ति भएको पूर्वमन्त्री कार्कीको दावी

इटहरी ,११ बैशाख। नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री केदार कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कारण राजधानी विराटनगरमा अशान्ति भएको आरोप लगाएका छन् ।
उनले विराटनगर अशान्त बनाउनुमा मुख्यमन्त्री र मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) का कारण भएको आरोप लगाएका हुन् ।

प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलनरत पहिचानवादी समूहसँग संवाद र वार्ता नगर्नु गलत भएको कार्कीको भनाइ छ । सञ्चारकर्मीहरुसंग कुराकानी गदै उनले मुख्यमन्त्रीले आन्दोलनकारीहरुलाई थप उक्साहट दिने गरि सार्वजनिक अभिव्यक्ति दिदैआएकाले पनि त्यसले उनीहरुलाई थप उग्र वनाएको टिप्पणी गरे । आन्दोलनकारीहरु समेत संवाद र वार्तामार्फत निकास खोज्न उनले आग्रह गरे ।प्रदेशको नाम कोशी राखिएको भन्दै पहिचानवादीहरू आन्दोलनमा छन् ।
आन्दोलनको क्रममा पदम कुमार लिम्बु (लाजेहाङ्ग)को मृत्यु भएपछि आन्दोलन उग्र बन्दै आएको हो । लाजेहाङलाई सरकारले सहिद घोषणा गरेको छ । तथापि नाम परिवर्तन हुनुपर्ने पहिचानवादीहरूको माग छ ।

शनिबार लाजेहाङको शव लिएर विराटनगरमा परिक्रमा गर्ने क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका थिए । आन्दोलनको विषयमा सरकार र प्रशासन गम्भीर नभएको कार्कीले बताएका छन् । ‘यो साझा सवाल हो, सबैको एकताले समाधान गर्नुपर्छ’ उनले भने ।
आन्दोलनबाट पछि हटे पहिचानवादी
प्रदेश १ को पुनः नामकरणको माग गर्दै आन्दोलनरत पहिचानवादीले भोलिदेखि गर्ने भनेको निर्णायक आन्दोलन स्थगित गरेका छन् । संघर्ष समितिको आज साँझ बसेको बैठकले आन्दोलनको कार्यक्रम थप प्रभावकारी र रणनीति परिवर्तन गर्नुपर्ने कारण देखाउँदै केही समय स्थगित गर्ने निर्णय गरेको हो ।

‘मिति २०८० वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनको कार्यक्रम थप प्रभावकारी र रणनीति परिवर्तन गर्नुपर्ने भएकोले केही समय पछि सार्ने र पूर्व निर्धारित प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, कोशी नाममा हस्ताक्षर दिने ८२ जना प्रदेशसभा सदस्यहरुलाई कालो झण्डा प्रदर्शन गर्ने सरकारी कार्यालयहरुमा कोशीको बोर्ड, छाप र लेटरप्याड हटाउने, मेटाउने अभियान निरन्तरता दिने,’ बैठकको दोस्रो एजेण्डामा निर्णय गरिएको छ, ‘प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गर्न बाँकी रहेका जिल्ला, पालिका, वडा देखि टोलटोलसम्म गठन गर्ने, कोशी नाम खारेजीका विषयमा प्रशिक्षण र जनता जागरणका लागि केन्द्रीय नेताहरु गाउँगाउँ जाने, कोशी नाम विरुद्धको विरोध कार्यक्रम जिल्ला, पालिका, गाउँगाउँमा गर्ने निर्णय गरियो ।’ बैठकले वैशाख ११ गतेदेखि २१ गतेसम्म वडा संयुक्त संघर्ष समिति गठन गरिसक्ने र कोशी नाम खारेजी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published.