
दमक,११ बैशाख । झापाको दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा धनराज राई चुनिएका छन् । शनिवार सम्पन्न संस्थाको प्रथम विशेष साधारणसभाले रिक्त रहेको अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष राई अध्यक्षमा चुनिएका हुन् ।
संस्थाका संस्थापक अध्यक्ष समेत रहेका अध्यक्ष जीतमान राईले आफनो स्वास्थ्यका कारण देखाउदै पदबाट राजीनामा दिएपछि रिक्त रहेको अध्यक्षमा धनराज राईलाई साधारणसभाले अनुमोदन गरेको हो । अनुमोदनसंगै राईले औपचारिक रुपमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।
बिशेष साधारणसभाले सञ्चालक समितिको उपाध्यक्षमा लछुदास राई, सचिवमा कृष्ण गोलेले जिम्मेवारी पाए भने पदाधिकारी र अन्य सदस्यहरु भने यसअघिनै निर्वाचित भई पदीय जिम्मेवारी सम्हालिआएका छन् । लछुदास संस्थाका निर्वतमान सचिव र सचिव भएका गोले यसअघि संस्थाका व्यवस्थापक हुन् ।
बेलायतको उच्च पदक भिक्टोरिया क्रस विजेता देशकै एकमात्र जिवीत दमक ८ निवासी संस्थाकै ज्येष्ठ शेयर सदस्य रामबहादुर बेघाको प्रमुख उपस्थितिमा सम्पन्न विशेष साधारणसभाको उद्घाटनमा अध्यक्ष राईले राजीनामा पत्र पेश गरेका थिए । उनको राजीनामा संस्थाको बन्दसत्रले धन्यवादसहित अनुमोदन गरेको थियो । उनी आखाँ सम्बन्धी रोगबाट केहि समयदेखि अस्वस्थ्य थिए ।
संस्थाका सञ्चालक टंक दुलालका अनुसार नेतृत्व चयन गर्न शेयर सदस्य मोहन मिश्रको संयोजकमा पारस आचार्य र नरवहादुर लिङदेन सदस्य रहेको एक निर्वाचन समिति गठन गरिएको थियो ।