
गौरीगञ्ज , ६ बैशाख । झापा, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले पदबाट राजीनामा दिएका छन् । पालिका कार्यालयमा उनले सोमबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ समक्ष पदबाट लिखित राजीनामा दिएका हुन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि उपाध्यक्ष थापाले राजिनामा दिएको बताईएको छ । तर उनको राजीनामा भने निर्वाचनमा कुनै उम्मेदवारीका बारे चर्चा गरिएको छैन् ।
उपाध्यक्ष थापाको राजीनामा पुष्टि गर्दे अध्यक्ष श्रेष्ठले उपाध्यक्ष जीको राजीनामा बारे थप अध्यनन गरि निर्णयमा पुगिने बताए । गएको स्थानीय तहको निर्वाचनमा अध्यक्ष श्रेष्ठ राप्रपाबाट र उपाध्यक्ष थापा भने नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
पत्रमा घोषित स्थानीय तहको निर्वाचनलाई निष्पक्षता,भयरहित बनाउन आफूले पदमा बसेर कार्यसम्पादन गर्न समस्या हुने भन्दै पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । आफनो दायित्वमा रहेका न्यायिक समिति र विभिन्न योजना तथा कार्यक्रमहरुको अनुगमनका सवालमा सहज ढंगले सेवा पुरयाँउन कर्मचारी तथा अन्य सदस्यलाई अधिकार प्रत्यायोजन गरि सहयोग पुरयाँई दिन हुन उनको राजीनामा पत्रमा उल्लेख छ ।
उपाध्यक्ष थापाले पदबाट राजीनामा दिएपछि न्यायिक समितिको दैनिक काम कारवाही प्रभावित भएको छ । न्यायिक समितिमा मुद्दाका फाइलहरु थुप्रिएको र अब ति दर्ता भएका मुद्दाहरु कसले हेर्ने भन्ने बारे अन्यौल रहेको कर्मचारी कृष्ण कुमारी भण्डारीले वताईन् ।