
दमक,६ बैशाख । गर्मीयाम शुरुभएसंगै तराईमा सर्प डसाईको विरामी बढ्न थालेका छन् । जिल्लाका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा पछिल्ला समय सर्प डसाईबाट उपचार गर्न आउने विरामीको संख्या बढ्दै गएको हो ।
सर्प डसाईका विरामीलाई लक्षित गरि दमक र चारआलीमा खोलिएका सर्प डसाई उपचार केन्द्रमा केहिदिन यता विरामीको संख्या बढ्न थालेको त्यहाँस्थित उपचार केन्द्रका अधिकारीहरुले जनाएका छन् ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले करिव दुई दशकदेखि दमकमा सर्प डसाईका विरामीको उपचार गरिआएको छ । त्यस केन्द्रले बर्सेनी १२ सयका हाराहारीमा त्यस्ता विरामीको उपचार गरिआएको उक्त सर्प डसाई उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीले वताउनुभयो । अहिले गर्मी र बर्षायामको शुरुवात तिर केन्द्रमा दैनिक ६,७ जना विरामी आउने गरेको छ ।
उहाँका अनुसार चैत,बैशाखदेखि जाडोयाम नसकिदाँसम्म दैनिक जसो सर्प डसाईका विरामी उपचार गर्न आउने गर्छन् । दिनमा भन्दा साँझपख सर्प बढी सक्रिय रहने हुदाँ त्यसवेला सर्प डसाईका घटना अधिक हुने उहाँको भनाई छ । गर्मी छल्न तथा भोजनका लागि दुलो बाहिर निस्कने हुदाँ त्यसवेला मानिसलाई डस्ने गरेको छ । उनले भने ,–‘गर्मीयाम भरि तराईमा सर्प डसाईको जोखिम मानिन्छ ,सर्प डसाईबाट सुरक्षित रहन साँझपख हिडडुल गर्दा सावधानी अपनाउनु पर्छ ’दमकको उपचार केन्द्रमा जिल्लासहित उत्तरी,पूर्वी मोरङ र इलामका दक्षिणी भेग चुलाचुलीका सर्प डसाईका विरामीले उपचार पाउदैआएका छन् ।
त्यसैगरि जिल्लाको पूर्वी क्षेत्रलाई लक्षित गरि २०६१ सालदेखि चारआलीस्थित नेपाली सेनाले पनि सर्प डसाइ विरामीको उपचार गरिआएको छ । त्यहाँ पनि ठुलो संख्यामा सर्प डसाईका विरामीले उपचार पाउने गरेका छन् ।