उर्लावारी ,४ चैत । घाँटीमा मासु अड्किएर मोरङको रतुवामाई नगरपालिका–९ मा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।बंगुरको मासु घाँटीमा अड्किँदा रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पोलेर खाने क्रममा साँझ ५ बजेतिर माझीको घाँटीमा बंगुरको मासु अड्किएको थियो । माझीलाई आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगेका थिए ।
उपचारका क्रममा साँझ ७.५० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।