बेलवारी,२ बैशाख । करेन्ट लागेर मोरङको बेलबारी ११ लक्ष्मीमार्गकी २३ बर्षिया एलिशा लिम्बूको शनिबार बेलुका मृत्यु भएको छ । कलमा नुहाउने क्रममा करेन्ट लागेर सख्त घाईते भएकी उनलाई उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा उनलाई अस्पतालले मृत घोषित गरेको बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिएका छन् । प्रहरीले घटनाका बारे अनुसन्धान शुरु गरेको जनाएको छ ।
रौतहटको गढीमाईमा गोली चल्दा एकको मृत्यु
रौतहटको गढीमाई नगरपालिकामा सडकसम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
गोली लागेर गढीमाई नगरपालिका–८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । अरु चार जना घाइतेको उपचार भइरहेको छ ।
गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउने क्रममा जग्गासम्बन्धी विवादमा स्थानीय रामइश्वर राय र राजकुमार यादव पक्षबीच झडप भएको थियो । विवाद बढेपछि राजकुमार पक्षधरले ढुंगामुढा गरेको स्थानीयहरूले बताएका छन् । त्यसपछि रामइश्वर पक्षले गोली चलाएको स्थानीयको आरोप छ । प्रहरीले गोली चलाउनेको पहिचान खुलाउन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । यादवको टाउकोमा गोली लागेको थियो ।
झडपका क्रममा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । घटनास्थल पुगेका इलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले घटनामा संलग्नको खोजी भईरहेको बताए ।
प्रहरीले घटनामा संलग्न स्थानीय श्याम यादव, रामप्रताप यादवसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ भने एक थान भरुवा बन्दुकसमेत बरामद गरेको घटनास्थल पुगेका एसपी बुढामगरले बताए ।
घटनामा संलग्न भएको आशंकामा १० जना व्यक्तिलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।