पथरी शनिश्चरे, २ बैशाख ।मोरङको पथरी शनिश्चरे वडा नं ४ को पिपल डाँडामा प्यारापेट सहितको सुविधा सम्पन्न खेलमैदान निर्माण हुने भएको छ ।सिद्धार्थ आधारभूत विद्यालयको स्वामित्वमा रहेको १३ कट्ठा ऐलानी जग्गामा नगरकै पहिलो प्यारापेट सहितको खेलमैदान बन्ने भएको हो ।लामो समयदेखि खेलमैदानको अभाव झेलिरहेका स्थानीय युवाहरूले अव्यवस्थित खेलमैदान खेल्न बाध्य हुँदै आएका थिए।
लागू औषध तथा दुर्व्यसनी टाढा राख्ने अभिप्रायले यस खेलमैदान निर्माणले उनीहरूको खेल सिप र क्षमता बृद्धि हुने आशा राखिएको सिद्धार्थ खेलमैदान उपभोक्ता समितिका सचिव छत्र लिम्बूले बताए।
राष्ट्रिय स्तरकी फुटबल खेलाडी सरू लिम्बू मोजाको गोल खेलेर आफूलाई राष्ट्रिय स्तरको खेलाडीको रुपमा स्थापित भइसकेकी छिन्।तर, कुनैपनि निकायले उनैले खेलेको उक्त खेलमैदानलाई भने अझै सम्म विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
सोहि समितिका अध्यक्ष राजकुमार मगरले सिद्धार्थ आधारभूत विद्यालयको स्वामित्वमा रहेको उक्त खेलमैदान निर्माण गर्न सबै पक्षको चासो र ध्यान जानुपर्ने औल्याए।
हालका लागि पथरी शनिश्चरे नगरपालिकाबाट ८ लाख रुपैयाँ बजेट विनियोजन भएकोले अहिले उक्त खेल मैदानमा निर्माण कार्य भइरहेको वडाध्यक्ष लोकनाथ न्यौपानेले जानकारी दिए।
आगामी वर्ष सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त खेलमैदान निर्माण सम्पन्न गर्नका लागि करिब ५० लाख लागत लाग्ने र सोको व्यवस्थापनका लागि कोशी प्रदेश तथा सङ्घीय सांसदहरू मार्फत आवश्यक पहल भईरहेको वडा नं ४ का अध्यक्ष न्यौपानेले बताए ।
उनका अनुसार विद्यालयको संरक्षणमा रहेको यस खेल मैदानलाई व्यवस्थित गर्न प्यारापिट सहितको पहिलो रंगशालाको रूपमा संरचना तयार गरिने छ । भौगोलिक क्षेत्रले ठूलो एरिया भएको वडा नम्बर ४ मा लामो समयदेखि व्यवस्थित खेलमैदानको अभाव झेलिरहेका स्थानीय वडाहरू ४, ६, ७ र ८ का युवाहरूका लागि यस खेलमैदान निकै उपयोी हुने उनको भनाई छ ।
यो संगै वडा नं ८ को बुद्ध माध्यमिक विद्यालयको हातामा बुद्ध खेल मैदान निर्माण भइरहेको छ भने वडा नं २ को कसेनीमा अर्को सुविधा सम्पन्न क्रिकेट , फुटबल र अन्य खेलहरू आयोजना गर्न मिल्ने साढे ५ बिगाहा क्षेत्रफलको रङ्गशाला निर्माण भइरहेका छन् ।