
दमक, २ बैशाख । नयाँ वर्षसंगै शुरूसंगै पूर्वमा मनाउने सिरूवा पर्वमा यतिखेर पूजाजन्य फूलघोडा सामाग्रीहरुको विक्री ह्वातै बढेको छ ।
आदिवासी समुदायका राजवंशी, ताजपुरिया, गन्गाई,माझीलगायतका प्रकृतिपूजक धर्मालवम्बीहरुले मनाउने सिरुवामा फूलघोडा बढाउने गरिने चलनका कारण यस्ता पूजाजन्य सामाग्रीको विक्री बढेको हो ।
यी जातिहरूका प्रत्येक परिवारले ग्रामथानमा देवतालाई अनिवार्य फूलघोडा चढाउनु पर्ने प्रचलन रहेको र विहेवारीको सिजन भएकोले फूलघोडाको विक्री
गौरीगञ्ज गाउँपालिका वार्ड न. ३ स्थित बुधवारे बजारमा फूलघोडा बेच्न बसेका जादुराम मालीले चाडपर्व र विहेको सिजन भएकोले फूलघोडाको विक्री बढेको बताउछन् । ‘एक सिजनमा र विहेको सिजनमा रु ४० देखि ५० हजार रूपैयाँसम्म बेच्ने गरेको छु ’ प्रत्येक हटियाको विक्री गरेको हिसाब गर्दै जादुरामले भने – ‘ यो फूलघोडाको हिसाब मात्रै भनेको हुँ ।’ खर्च काटेर एक सिजनमा रु २५ देखि ३० हजार रूपैयाँ नाफा हुने गरेको उनले बताए ।
गौरीगञ्ज गाउँपालिका वार्ड न.४ अल्तावारी बस्ने जादुराम मालीले आदिवासी समुदायले पुजाआर्चना गर्दा देवीदेवताहरूलाई चढाउने फूलघोडा, भगवती सठा, पाँच देवतालाई चढाउने मौरा, झरा, भुटिया घरा, मजुस फूल , विहेमा बेहुला र बेहुलीले लगाउने फूल बेच्ने गर्छन् ।
बुधवारे बजारमा जादुरामकै छेउमा फूलघोडा बेच्न बसेका मोहनदेव मालीले पनि जादुराम माली जतिकै रकम बराबरको फूलघोडा सजिलै बेच्ने गरिआएका छन् । मोहनदेव भन्छन् – ‘यो सिजनमा भ्याई नभ्याई हुन्छ । पर्वको लागि फूलघोडा ,झरा, भुटिया घरा र विहेको लागि पनि उतिकै माग आउने गर्छ ।’
सिरुवा भित्रीएसंगै उनले जिल्लाको दक्षिणी भेगमा साप्ताहिकरूपमा लाग्ने प्रमुख स्थानीय बजारहरू गौरीगञ्ज, खजुरगाछी, दामुना, गुवालडुब्बा, गौरादह र बघाहा चौधरी बजारमा फूलघोडा बेच्न पुग्ने गरेको बताए ।
उनका अनुसार एकजोडा फूलघोडाको रु २० रूपैया पर्छ । उहाँले फूलघोडासंगै धार्मिक अनुष्ठानमा प्रयोग हुने मजुस रु ४ सय रूपैयाँ, , मौरा रु ५० रूपैयाँ, भगवती सौठा रु २० रूपैयाँ, भुटिया घोडा रु ५० रूपैयाँ जोडामा बेच्ने गरेको बताए ।
फूलघोडा कुर्लाहा अर्थात कुन्डिला ( चौनी, दहमा पाइने एक प्रकारको वनस्पति ) , बाँसको सिन्का, कागज र रङ्गबाट बनाईने गरेको उनले वताए । सिरूवा पर्वमा आदिवासी समुदायले आआफ्नो महाराजथानमा लिपपोत गरी देवतालाई फुलघोडा, केरा, दूध, पान, सुपारी, अगरवती, लारू (चिनीले बनाएको सानो लड्डु ), चामल प्रसादको रूपमा चढाई पुजाआर्चना गर्ने गरिआएको ताजपुरिया समाज कल्याण परिषदका पूर्व केन्द्रीय अध्यक्ष नित्यानन्द ताजपुरियाले वताए ।
सिरूवा पर्वमा आदिवासी बाहुल रहेका बस्तीहरुमा विशेष सिरुवा मेला लाग्दैआएका छन् ।