
झापा, २८ चैत । जनप्रतिनिधिले सवारी साधन र पाएको सुविधा फिर्ता गर्ने होडबाजी चलिरहेका बेला झापा, शिवसताक्षीका एक जना वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।
वडा नम्बर ८ का वडा अध्यक्ष केहरशिंह बस्नेतले नगर प्रमुख चन्द्रकुमार शेर्मालाई सोमबार राजीनामा पत्र बुझाएका हुन् । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा त्यसैलाई विषय बनाएर राजीनामा दिने बस्नेत सम्भवतः पहिलो वडा जनप्रतिनिधि हुन् ।
नगर प्रमुख शेर्माको कार्यकक्षमा पुगेर वडा अध्यक्ष बस्नेतले स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारी छनोट तथा चुनावी प्रचार कार्यक्रमलाई सहयोग गर्ने हेतुले पदबाट राजीनामा दिएको बताएका छन् । बस्नेत नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए । बस्नेत २०४६ पछि लगातार तीन पटकसम्म जनप्रतिनिधि भए ।
पछिल्लो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएपछि पालिकाले दिएको मोटरसाइकल सुविधा पनि उनले फिर्ता गरेका थिए। ‘मैले नेकपा एमालेबाट टिकट पाए पनि तपाईँ वडाबासीको मतले निर्वाचन जितेँ। यो अवधिसम्म मलाई सहयोग, सल्लाह र सुझाव दिने नेपाली कांग्रेस, माओवादीलगायतका स्थानीय राजनीतिक दललाई धन्यवाद छ,’ उनले पदबाट राजीनामा दिँदै भने।
उनले कार्यवहाक अध्यक्षका रूपमा वडा सदस्य चुडामणि सिवाकोटीलाई अधिकार प्रत्यायोजनसमेत गरेका छन् ।नगर प्रमुख शेर्माले वडा अध्यक्षज्यूले एउटा हस्तलिखित कागज दिएको बताए। कागजमा के उल्लेख छ भन्ने विषयमा नगर प्रमुख शेर्माले अनविज्ञता जनाए। ‘मेरो व्यस्तताका कारण वडा अध्यक्षज्यूले दिएको निवेदनमा के कुरा उल्लेख छ भन्ने मैले बुझेको छैन्, उनले भने, ‘कार्यकक्षमा आउनुभयो। रातो गुलावको फूलसहित निवेदन दिनुभयो । म गए हैँ भन्दै बाहिरिनुभयो।’
उनका अनुसार उहाँ नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हो, पार्टीलाई जानकारी नदिई राजीनामा हो भने मैले तत्काल त्यस विषयमा कारबाही अगाडि बढाउन मिल्दैन।
वडा अध्यक्ष बस्नेतले आफनो राजीनामा पार्टी कमिटीमा पनि जानकारी गराउने बताए ।