
कमल ,२८ चैत । हावाहुरीसहित परेको असिनापानीले घरमा क्षति पुगेका कमल २ र ७ का ६ परिवारलाई नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले राहत प्रदान गरेको छ ।
आइतवार र सोमबार गरि रेडक्रस उपशाखा टोलीले पीडितका घरघर पुगेर त्रिपाल लगायतका राहत सामाग्री प्रदान गरिएको सभापति चन्द्र शाहले जानकारी दिए । रेडक्रस टोलीमा उपशाखा सचिव पारषमणि राई, सामाजिक व्यक्तित्व समेत रहेका उपशाखा सल्लाहकार हुकुमसिंह राई लगायत रहेका थिए ।
सचिव राईका अनुसार असिना पानीले कमल २ सगरमाथा टोलका पर्शुराम न्यौपाने ,डिकबहादुर थापा ,कोनाल भुजेल र कुमारी भुजेल, कमल ६ दहिचौकका कालीबहादुर सार्कीको घरको छानो तथा बेरामा क्षति पुरयाँएको थियो ।
यसैगरि हावाहुरीले घरको छाना उडाएका कमल ६ नयाँ बस्तीका तेज बहादुर विक, कालिबहादुर सार्की, नन्दकुमार सार्कीलाई वडा कार्यालय पनि त्रिपाल हस्तान्तरण गर्नुका साथै बिभिन्न स्थानमा भएको क्षतिको निरीक्षण गरिएको वडाअध्यक्ष नरेन्द्र भट्टराईले बताए ।