दमक ,२८ चैत । दमक नगरपालिकाले संस्थागत विद्यालय वर्गीकरणको कार्य स्थगित गरेको छ । विद्यालय वर्गीकरणसहित शुल्क वृद्धि गर्ने शिक्षा समितिको निर्णय सार्वजनिक भए लगत्तै चौतर्फी चर्को आलोचना भएपछि दमक नगरपालिकाले सो निर्णयबाट पछि हटेको हो ।
बुधबार दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सूचना निकालेर तत्काल विद्यालय वर्गीकरणको कार्य स्थगित गरिएको जानकारी दिए ।शिक्षा समितिको गत चैत १९ गते निर्णय प्रति विभिन्न राजनीतिक दल, विद्यार्थी संघ,संगठनहरु, अभिभावकहरु , सरोकारवालाहरुबाट गुनासो आएको भन्दै उनले त्यसप्रति स्थानीय सरकारको गंभीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । सवै विद्यालयलाई निर्देशन दिदै उनले उक्त निर्णय छलफलका क्रममा रहेको तथा नगरकार्यपालिकाबाट थप निर्णय हुन वाकी रहेकाले त्तत्काल सो सम्बन्धी निर्णय कार्यान्वयन नगर्न, नगराउन भनिएको छ ।
उनले शैक्षिक क्षेत्रलाई सरल,सह, सर्वसुलभ तथा गुणस्तरिय शिक्षा प्रदान गराउन नगरपालिका प्रतिवद्ध भएको उल्लेख गरेका छन् ।नगरपालिकाको शिक्षा समितिले दमकका ६ वटा संस्थागत विद्यालयहरुलाई ( क ) देखि ( घ ) सम्म वर्गीकरण गरि वर्गीकरण अनुसार शुल्क निर्धारण गरेको थिया । स्थानीय सरकारले यस किसिमको निर्णय झापामा भने पहिलो भएको बताईएको छ ।
शैक्षिक सत्र शुरु भईरहेको बेला नगरपालिकाको यस किसिमको निर्णयले अभिभावकहरु अन्यौलमा परेका छन् । शिक्षा समितिले एउटा भन्ने नगर प्रमुखले थप निर्णय बाकी भएको भन्ने दुई खाले परिपत्रले सिंगो विद्यालय सञ्चालकहरु पनि द्धिविधामा परेको निजी विद्यालयका एक सञ्चालकले बताएका छन् ।