एसइईमा नक्कली परीक्षार्थी : कन्सल्टेन्सी सञ्चालक पक्राउ

धरान,२६ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई पक्राउ गरेको हो ।
एसइई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जन बढी प्राइभेट इन्स्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ ।
सक्कली परीक्षार्थीहरूले प्रति व्यक्ति ३० हजार देखि ४० हजार रुपैयाँसम्म लिएर उनीहरूले पास गराउने ग्यारेन्टी दिएर खेताला परीक्षार्थी लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गराउने जिम्मा लिने सुनसरीका बढी कन्सल्टेन्सी रहेको छ । टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सल्टेन्सीका सोनाम रिजाल रहेको बुझिएको छ । उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडविल कन्सल्टेन्सी मङ्गलबारे, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एनएआरटी कलेज पथरी रहेका छन् । नक्कली परीक्षार्थीहरूमा धेरैजसो धरानस्थित कन्सल्टेन्सीका रहेका छन् । खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुस्ट रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गर्दछन् । त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेका छन् ।
नेपालको संविधान २०७२ ले माध्यमिक तह (प्रारम्भिक बाल कक्षादेखि १२ सम्म ) को सञ्चालन अनुमतिदेखि नियमनसमेत गर्न स्थानीय तहलाई एकल अधिकार दिएको छ । तर, नियामक निकाय स्थानीय तहले प्रभावकारी रूपमा नियमन गर्न नसक्दा शैक्षिक संस्थामा विकृति विसङ्गति मौलाएको छ ।

मोरङ माध्यमिक शिक्षा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेपछि शैक्षिक संस्थाको विकृति खुलेको हो । मोरङबाट नक्कली परीक्षार्थी पक्राउ परे पनि ती नक्कली परीक्षार्थी मोरङका मात्रै नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चैत २२ र २३ गते कुल २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अधिकतम परीक्षार्थी धरान र बेलबारीका छन् । धरानबाट अधिकांश कन्सल्टेन्सी विद्यार्थी भर्ना गर्ने र रकम लिएर नक्कली परीक्षाथीलाई परीक्षा दिन लगाउने गर्दै आएका थिए । नगर वा कुनै निकायले अनुगमन गरी नियन्त्रण गर्ने गरेको छैन । कन्सल्टेन्सीहरूले नक्कली परीक्षार्थीबाट परीक्षा दिलाएर उत्तीर्ण गराइदिने भन्दै मोटो रकम लिने गरेका छन् । नक्कली परीक्षार्थी पक्राउ परेसँगै यस्ता कन्सल्टेन्सीहरू सार्वजनिक भएका छन् ।
अरूको परीक्षा दिने नक्कली परीक्षार्थीलाई शिक्षा ऐन २०२८ अनुसार कारबाही हुने व्यवस्था छ । शिक्षा ऐन २०२८ को दफा १७ मा दण्ड सजायसम्बन्धी व्यवस्था रहेको छ । दफा १७ को १ -क मा अरूको तर्फबाट परीक्षा दिएमा एक लाख रुपैयाँसम्म जरिबाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ ।
अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेको थिए । झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दहरैँचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए । नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने सरस्वती नमुना माविमा ८ वटा विद्यालयको सेन्टर रहेको थियो । चौथो दिनसम्म नक्कली विद्यार्थीले नै परीक्षा दिएका थिए भने पाँचौँ दिन सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका थिए । परीक्षा दिन आउने नक्कली परीक्षार्थीहरूले दैनिक ७ सयदेखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको प्रहरीले जनाएको छ । नक्कली परीक्षार्थीहरूले दिएको परीक्षा रद्द भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.