शिविरडाँडामा पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन बन्ने

पथरीशनिश्चरे, २७ चैत्र ।मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाको नयाँ प्रशासनिक भवन वडा नं १० को शिविर डाँडामा निर्माण गरिने भएको छ। आज नगरपालिकाले अफनै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएको हो ।

भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा गत फागुन १२ गते नेपाल सरकारको मन्त्री परिषदबाट निर्णय भएको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले जानकारी गराए ।
सो कार्यका लागि आवश्यक आर्थिक तथा टेन्डर आह्वान प्रक्रिया अगाडि बढिरहेको उनले बताए । नगर प्रमुख तुम्वापोले वैशाख महिनादेखि नै निर्माण कार्य सुरु भएर २०८४ सालमा निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले प्रयोग गर्न पाउने गरी दुई वर्षभित्र सम्पन्न हुने गरि काम थालिएको बताए ।

पत्रकार सम्मेलनमा नगरका प्रमुख तुम्वापोले ०.४ हेक्टर अर्थात् १२ कठ्ठा क्षेत्रफलमा ४ तले आधुनिक सुविधा सम्पन्न भवन निर्माणका लागि डिपीआर सहित आवश्यक प्रकिया सुरु भैरहेको बताए । उनले लिफ्ट सहितको अपाङ्ग मैत्री भवन निर्माणका लागि गएको नगरसभाले ४ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरी सकेको छ भने नेपाल सरकारबाट नगरपालिकाको प्रशासनिक भवन निर्माणका निम्ति प्रदान गरिने मापदण्ड अनुसार नै कूल १२ करोड रुपैयाँ बराबरको बजेट मध्येंबाट ५० प्रतिशत रकम (६ करोड रुपैयाँ ) प्राप्त हुने सुनिश्चितता भएको बताए।

सोहि क्रममा उनले अपुग बजेट आगामी वर्षहरुका नगरसभाबाट निर्णय गरी निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए। उक्त भवन निर्माण सम्पन्न भएपछि नगरसभा , कार्यपालिकाको बैठक , न्यायिक समितिमा ईजलास, नगरपालिकाको कार्यालय मातहतमा रहेका सबै शाखाहरू एउटै भवनमा अटाउने खालको भवन बनाईने उनले बताए।
उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा न. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं.१० का वडाध्यक्ष जीवन खतिवडा, लेखा शाखा प्रमुख पिताम्बर वस्ती तथा नगरमा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.