कमल,२६ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा कमल गाउँपालिका वडा न २ ले सुत्केरी भएका महिलाहरुलाई पोषण सामग्री वितरण गरेको छ ।दिवसका अवसरमा कमल नगर अस्पतालले मंगलवार एक कार्यक्रम गरि हालै सुत्केरी भएका महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको हो ।
“स्वस्थ्य सुरुवात , समृद्ध भविष्य ” भन्ने नाराका साथका साथ अस्पतालले स्थानीय स्तरमा मातृ स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले बिपन्न तथा गरिब र आवश्यकता भएका सुत्केरी महिलाहरुलाई लक्षित गर्दै पोषण वितरण गरिएको अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले बताए । उनका अनुसार वडा कार्यालयले अस्पतालमा सुत्केरी भएका तीन जना महिलालाई दाल, घ्यु, अण्डा, आयोडिन नुन, चामल लगायतका वस्तुहरु प्रदान गरिएको हो ।
मातृ स्वास्थ्य तथा पोषण सुधारका लागि गाउँपालिकाले प्राथमिकता दिएका क्षेत्रहरुमध्ये वडाले पनि यो कार्यक्रम सञ्चालनमा ल्याईएको वडाअध्यक्ष अशोक सुब्बाले बताए ।
उनले आर्थिक रुपमा कमजोर वर्गका सुत्केरी महिलाहरुको पोषण सुधारमार्फत यस कार्यक्रमले नवजात शिशु स्वास्थ्यमा पनि दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा अझ व्यवस्थित ढंगले यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए ।
गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले महिलाहरुको सुत्केरी अवस्थामा पोषिलो आहारको विशेष खाँचो हुने भएकाले पालिकाले कमलका ७ वटै वडामा सुत्केरीलाई यस किसिमको पोषण सामाग्री प्रदान गरिआएको बताईन् । पालिकाले महिलाहरु लक्षित गर्भवती हुदाँ आवश्यक स्वास्थ्य जाँच ,औषधी वितरण गर्नुका साथैं सुत्केरी हुदाँ पालिका बाहिर लैजान निशुल्क एम्बुलेन्स समेत उपलव्ध गराउदै आएको छ ।