झापा, २५ चैत । जिल्लाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीस्थित नुर मोहम्मदले सञ्चालन गरेको बिर्तामोड कपास प्रशोधन उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ।
बुधबार दिउँसो सुरु भएको आगलागीले उद्योगभित्र रहेका सिरक, डस्ना, कपास तथा विभिन्न मेसिनरी औजारहरूमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
आगो फैलिँदै जाँदा उद्योग परिसरमा ठूलो क्षति भएको हो । आगलागी नियन्त्रणका लागि श्री अरिदमन गण, चारआली ब्यारेकबाट उपसेनानी विजय पाण्डेको कमाण्डमा टोली खटिएको थियो। त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गरेर दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
दिउँसो करिब १२ बजेबाट सुरु भएको आगो नियन्त्रणमा लिन साढे दुई घण्टा लागेको थियो । दिउँसो २ः२५ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको झापा प्रहरीले जनाएको छ ।
आगो निभाउनका लागि झापाको बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल प्रयोग गरिएको थियो । सुरक्षा निकाय, दमकल र स्थानीय बासिन्दाहरूको प्रयासपछि आगो थप फैलिन नपाई नियन्त्रणमा आएको जनाइएको छ ।
कपास प्रशोधन उद्योगमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।