इहटरीमा पनि एनआईसीले राख्यो ऋणीको घरमा ‘ सुरक्षा गार्ड’

झापा,२२ चैत । दमकपछि एनआइसी एसिया बैंकले इटहरीमा पनि ऋणीको घरमा सुरक्षा गार्ड राखेको खुलासा भएको छ । समयमा व्याज नबुझाएको भन्दै एनआईसी एशिया बैंकले इटहरीस्थित एक ऋणीको घरमा सुरक्षा गार्ड राखेको खुल्न आएको छ । धितो लिलामीको प्रक्रियामा गएका ऋणीको घरमा गार्ड तैनाथ गरेर ऋणीलाई मनोवैज्ञानिक दबाब दिने रणनीति बैंकले बनाएको बुझिएको छ ।

स्रोतका अनुसार ,बैंकले इटहरीका विक्रम तिम्सिना (विक्रम श्री ) को घरको गेटमा केहिदिन यता एक जना सुरक्षा गार्ड तैनाथ गरेको छ । उनले बैंकबाट लिएको ऋणको सावाँ ,व्याज नतिरेपछि धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेको छ । सार्वजनिक सूचनासँगै घरको गेटमा सेक्युरिटी गार्ड पठाइएको विक्रमले बताए ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआईसी एशिया बैंकले सेक्युरिटी गार्ड रहेको जानकारी गराउँछु ।’

विक्रमले आफूलाई घरमै ताला लगाएर नजरबन्द गरी प्रहरीले ड्युटी गरिरहेको भन्ने भ्रामक खबर बजारमा फैलिएको बताउँदै लेखेका छन्, ‘समयमा किस्ता बुझाउन नसक्दा बैंकले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन, गार्डले राम्रो हेरदेख गरिदिएको छ ।’

उनले आफूले समयमा किस्ता बुझाउन खोज्दाखोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरूका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीका कारण नसकेको भन्दै गुनासो गरेका छन् ।

विक्रम कोशी प्रदेशका चिरपरिचित मूर्तिकार समेत हुन् । कालकारश्रीले आफूले समयमा किस्ता तिर्न नसकेपछि बैंकका कर्मचारीले बोलाउने र फोटो खिच्ने गरेको बताए । उनले भने किन फोटो खिचेको भन्दा हामीले ऋणीलाई भेटेको प्रमाण पठाउनु पर्छ भन्दै मानसिक यातना दिएको बताए ।

उनले धेरैजना कर्मचारीबाट एकै दिन धेरै कल आएको र घर तथा कार्यक्षेत्रमा नै भेट गरी ताकेता गरिएको समेत बताउँदै लेखेका छन्, ‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको बाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ ।’उनले बैंकलाई आफ्नो स्लोगन ‘बैंक पनि साथी पनि’ सम्झन आग्रहसमेत गरेका छन् ।

चौतर्फी आलोचना भएपछि बैकले गार्ड हटाए

ऋणी विक्रमश्रीको जस्तै दमक ५ का दुर्गाप्रसाद कँडेलको घरमा पनि बैंकले नै सुरक्षा गार्ड खटाएको थियो । त्यहाँ बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म गार्ड तैनाथ गरिएको थियो । सामाजिक सञ्जालमा विरोध भएपछि कँडेलको घरबाट गार्ड हटेका छन् ।
३ महिनादेखि कँडेलले बैंकको सावाँ तथा व्याज तिरेका थिएनन् । पैसा तिर्छु भन्दा पनि बैंकका कर्मचारीले गाली गर्ने गरेका उनकी श्रीमती चन्द्रकलाले बताइन् । खाएपछि समयमा तिर्नु पर्दैन भनी बैंकका कर्मचारीले अपमानजनक शब्द बोल्ने गरेका उनले दुखेसो गरिन् ।

४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको र आफूले १० हजार रूपैयाँमात्र लगेर जम्मा गरेको कँडेलले बताए । पैसा जम्मा गरेर घरमा आइनपुग्दै बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटाएको हो । उनले १ करोड रूपैयाँ ऋण लिएका थिए । साँवा ब्याज गरेर ९७ लाख रूपैयाँ तिर्न बाकी रहेको कँडेलले बताए । उनी घरजग्गा व्यवसायी हुन् ।

एनआईसी एशिया बैंक इटहरीका म्यानेजर अनिश भट्टराईले कर्जा रिकभरीका लागि सुरक्षा गार्ड राखिएको बताए । उनले केन्द्रीय निर्देशनअनुसार नै व्याज उठाउनका लागि घरमा सुरक्षा गार्ड खटाएको बताए ।

Leave a Reply

Your email address will not be published.