तुलसी सहकारीका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दायर

विराटनगर ,२२ चैत । विराटनगरमा केन्द्रीय कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकहरूविरुद्ध ठगी मुद्दा दायर भएको छ ।
सहकारी ऐन विपरीत बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मंगलबार ठगीमा मुद्दा दायर गरेको हो । फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, संचालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा ,सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर भएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका लेखा परीक्षण गर्ने सिए शितल चन्दलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी नबाउने निर्णय गरेको छ । उनले गरेको कामकारवाही विधिसंगत नदेखिएपछि चन्दको हकमा मुद्दा नचलाउने निर्णय भएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
उनका अनुसार बुधबारदेखि प्रतिवादीहरुको बयान सुरु हुनेछ । बयान सकिए सोहीदिन थुनछेक बहस हुनेछ । बहसपछि अदालतले आदेश गर्नेछ । सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ । अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।
उनीहरुलाई सहकारी ऐन २०७४ बमोजिम विगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरुलाई र विगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई विगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
सहकारीका संचालकहरुले ३ हजार ६३ जना सर्वसाधारणको जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चार वटा शाखा रहेको छ । विराटनगरमा केन्द्रीय कार्यालय सहकारीबाट सबैभन्दाबढी सदस्य रहेको छ । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ निक्षेप गरेका छन् ।
उजुरी दिन आउनेहरु मोरङको मात्र हो । झापा, सिरहा र गाइघाटको उजुरी दिन बाँकी रहेको छ । बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत भएको देखिएको प्रहरीले जनाएको छ । संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published.