हुक्वापूजासहित झापाका ज्येष्ठ आङदेम्बेहरु सम्मानित

दमक ,२२ चैत । पापोहाङ आङदेम्बे सामाजिक कल्याण समिति झापाले शनिवार जिल्लाको कनकाई नगरपालिकास्थित भुरुङगामा विशेष कार्यक्रम गरि हुक्वापूजा गर्नुका साथैं ज्येष्ठ बंशजहरुलाई सामूहिक रुपमा सम्मान गरेको छ ।

समितिले आफनो बार्षिक कार्यक्रम अन्तर्गत जिल्लाभरिका आङदेम्बेहरु दाजुभाई, दिदीवहिनीहरुको वृहत उपस्थितिमा विशेष आराधानाका साथ गालीश्राप पूजा गर्नुका साथैं एक दर्जन बढी ज्येष्ठ अग्रजहरुलाई सम्मान गरिएको हो । साथैं , आङदेम्बे चेलीहरुलाई समेत दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको सचिव देवेन्द्र आङदेम्बेले बताए ।
सचिव देवेन्द्रका अनुसार सम्मानित हुने ज्येष्ठहरुमा काकडभिटटाका खगेन्द्र, दाम्राभिटटाका रामप्रसाद, माईधारका कालुमान,बुद्धशान्तिका मानबहादुर, चन्द्रबहादुर, ज्ञानबहादुर,ज्ञानमाया,छत्रबहादुर, चन्द्रमाया र कुमार आङदेम्बे लगायत रहेका छन् ।
संस्थाका अध्यक्ष सन्तवीर आङदेम्बेको अध्यक्षता तथा समाजसेवी मनप्रसाद आङदेम्बेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वक्ताहरुले बन्धुत्व एकता तथा संस्थागत हितका निम्ति सामूहिकता हुनुपर्ने औल्याएका थिए ।

यसरी मन्तव्य राख्नेमा प्रमुख अतिथि मनप्रसाद आङदेम्बे, फाल्गुनन्द गाउँपालिकाकी पूर्व उपाध्यक्ष देवित्रा आङदेम्बे, शिवसताक्षी नगरपालिका वडा न. ७ का अध्यक्ष भवानी विक्रम चेम्जोङ, किरात याक्थुङ चुम्लुङ झापाका पूर्व अध्यक्ष टेकबहादुर आङदेम्बे, जयश्वर आङदेम्बे, पत्रकार विष्णु आङदेम्बे लगायतले बोलेका थिए । त्यस्तै, अध्यक्ष सन्तवीरले संस्थाले गरिआएका कार्यका बारेमा जानकारी गराएका थिए ।

हुक्वापूजाका क्रममा आङदेम्बे परिवारले किरात धर्म तथा परम्परागत तवरले पूजापाठ गरिएको थियो । यसरी पूजापाठ गर्दा परिवारसंगै देशले सुख,शान्ति पाउने भन्ने मनोकांक्षाले विशेष कार्यक्रम गरि हुक्वापूजा मनाउदैआएको उनीहरुको बुझाई छ । कार्यक्रममा गायिका नविना आङदेम्बेले भाषिक धाननाँच गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेकी थिईन् । सो भेलामा उनीहरुवीच परिवारक भेटघाट तथा विशेष खानपीनको व्यवस्थापन समेत गरिएको थियो ।
चार वर्ष अघि मात्र स्थापना भएको उक्त संस्थाले झापामा छरिएर रहेका आङदेम्बेहरुवीच बन्धुत्व एकतासंगै विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।

 

Leave a Reply

Your email address will not be published.