
ताप्लेजुङ ,२० चैत । वर्षासँगैको चट्याङले लागेर ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ आम्वेगुदिनमा शनिवार राति एक जना युवाको मृत्युभएको छ । यसरी मृत्यु हुनेमा ल्हासाटोल निवासी मुकेश भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक कैलाशकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका साढे ८ बजेतिर सोही स्थानका रनबहादुर चौहानको दूध डेरीको अगाडि बसिरहेको अवस्थामा उनलाई चट्याङले लागेको थियो ।
स्थानीयले तत्काल बोकेर तेल्लोक प्राथमिक उपचार केन्द्र पुर्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको अधिकारीले बताए । २३ वर्षीय उनी भलिबलका प्रतिभावान खेलाडी मानिन्थए । पालिकास्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिआएका प्रतिभावान खेलाडीको निधनले जिल्लाको भलिबलमा नराम्ररी क्षति पुगेको जिल्ला भलिबल संघले जनाएको छ ।