दमक,२१ चैत । फेसबुकमा कमेन्ट गरेको निहुँमा झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले एक विद्यार्थीलाई कुटपिट गरेको विषयमा पालिकाले छानवीन समिति बनाएको छ ।
कमल ५ राधाकृष्ण टोल निवासी सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले शारीरिक तथा मानसिक यातना दिई कुटपिट गरेको घटना बाहिर आएपछि घटनाको सत्यतथ्य ल्याउन कमल ५ का वडाअध्यक्ष एलवी विष्टको संयोजकत्वमा छानवीन समिति गठन गरेको हो । गठित समितिको सदस्यहरुमा लेखनाथ खतिवडा, सरस्वती सेढाई,बद्री कार्की र रन्जना बस्नेत रहेका छन् । सो छानवीन समितिले भोलि विहिबारदेखि काम थालेर समयसिमा भित्रमा प्रतिवेदन बुझाउने संयोजक विष्टले जानकारी दिए ।
पालिका शिक्षा समितिको आज बसेको आकस्मिक बैठकले चैत २४ गते भित्र घटनाको सत्यतथ्य,निष्पक्षता ढंगले काम गरि यथार्थ बाहिर ल्याउन समयसिमा तोकी सो छानवीन समिति गठन गरिएको पालिका अध्यक्ष हुकुमसिंह राईद्धारा जारी सूचनामा उल्लेख छ । जारी विज्ञप्तिमा मंगलमय माविमा सञ्चालन भईरहेको एसईइ परीक्षालाई बाधा नपुग्ने गरि घटनाका विषयमा आवश्यक छानवीन गरि दोषी पाईए प्रअ वगालेलाई प्रचलित कानुन अनुसार कारवाहीको प्रकृया अघि बढाउने जनाईएको छ ।
यसैवीच, पीडित छात्रा बाँस्कोटालाई मरणासन्न हुने गरि कुटपिट गर्नुका साथै उनलाई विद्यालय निष्कासनदेखि विभिन्न अभियोग लगाएको घटना बाहिर आएको छ । विद्यार्थी र उनका अभिभावक नवराज बाँस्कोटालाई सही छाप लगाएको हस्तलिखीत कागजमा भनिएको छ, –‘ उनलाई अव आइन्दा यस विद्यालयमा अध्ययन गर्न बन्देज गरिएको तथा गाजा खाने र साइबर क्राइममा समेत संलग्नता भएकाले निजलाई चाहिएको खण्डमा प्रमाणपत्र उपलव्ध गराईने छ ’