
झापा,२० चैत । पछिल्लो समय झापामा बंगुर पालक किसानको संख्या बढ्दै गएकोछ । संघीयतापछि प्रदेश र स्थानीय सरकारले अनुदानको कार्यक्रम दिन थालेपछि पनि बंगुर पालक किसानहरु व्यवसायिक वंगुर पालनमा आर्कषित हुदैगएका हुन् ।
कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी गर्दै गरेका युवा गाउँ फर्किएपछि स्वरोजगार बन्न गाउँघरमै बंगुर पालनमा विस्तारै व्यवसायिक बन्दै गएका छन् ।
त्यस्तै, प्रदेश सरकारले नश्ल सुधारदेखि बंगुरको खोर निर्माणमा समेत अनुदान उपलव्ध गराएपछि जिल्लामा बंगुर पालन गर्ने किसानहरूको संख्या बढ्दै गएको हो । झापामा केही वर्ष अघिसम्म बंगुर पालन गर्ने किसानहरू सीमित संख्यामा मात्र थिए । तर, तीन वर्षयता जिल्लामा बंगुर पालक किसानको संख्या बढेर पाँच सयभन्दा धेरै पुगेको बंगुर व्यवसायी संघ प्रदेश १ का अध्यक्ष संजिव कुलुङ्ग राईले बताए । ‘सरकारले पनि सहयोग गर्दै आएको छ । त्यसकारण बंगुर पालक किसानको संख्या बढ्यो,’ उनी भन्छन्, ‘तर, अहिले दानाको मूल्य अकासिएको छ । बजारमा माग पनि घटेको छ ।’
बंगुर पालनमा आकर्षण बढेपछि पछिल्लो आर्थिक मन्दी र दानाको मूल्य वृद्धिले साना बंगुर पालक किसानमा भने समस्या आउन थालेको किसानको गुनासो छ । बंगुर उत्पादनमा वृद्धि भए पनि उचित बजार नहुँदा समस्या हुन थालेको किसानले बताएका छन् ।
झापामा यसपटक पनि प्रदेश सरकारले बंगुर पालनक किसानका लागि भनेर विभिन्न कार्यक्रमहरू आएको छ । सरकारको सहयोग पाउन थालेपछि बंगुर पालनमा किसानको आकर्षण बढ्दै गएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले बताए । ‘यसवर्ष पनि बंगुर पालक किसानका लागि अनुदानको कार्यक्रहरू छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको छ । जसका कारण बंगुर पालक किसानको संख्या दिनानुदिन बढ्छैन,’ उनले भने ।
प्रदेश १ को कृषि मन्त्रालयका अनुसार प्रदेश १ बंगुरको मासु उत्पादनका लागि आत्मनिर्भर प्रदेश हो । नेपालभर पालिने र मासुका लागि प्रयोग हुने बंगुरमध्ये ६० प्रतिशत बंगुर प्रदेश १ मै पालिने गरेको मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा सबैभन्दा धेरै झापामा बंगुर पालिने गरिएको छ । ‘मासुका लागि बंगुर पालिन्छ । नेपालमा पालिने बंगुरको ६० प्रतिशत हिस्सा चाहिँ प्रदेश १ ले धानेको छ । बंगुर पालनमा यो प्रदेशको राम्रो छ,’ उनले भने, ‘यहाँबाट काठमाडौं र पश्चिमका जिल्लामा पनि निर्यात हुन्छ । भारतको विभिन्न ठाउँसँगै भुटानसम्म पनि पुग्छ ।’
प्रदेश १ मा बंगुर पालनको सम्भावना देखेर प्रदेश १ सरकारले बंगुर प्रवद्र्धन कार्यक्रमसमेत दिएको थियो । त्यो कार्यक्रममार्फत ११८ जना किसानलाई अनुदान दिइएको खत्रीले बताए । अनुदानबाट खोर निर्माण लगायतका काम भएको उनले बताए । तर, पछिल्लो समय बजार पाउन मुस्किल भएको उनको भनाइ छ । ‘बंगुरको पाठा विक्री गर्न बजार अभाव भएको किसानबाट गुनासो आएको छ । उत्पादन धेरै भएपछि बजार पाउनै मुस्किल भयो,’ उनले गुनासो राखे ।