
दमक,१९ चैत । यहाँस्थित तुलसादेवी न्यौपाने स्मृति कोषले यसबर्ष पनि शैक्षिक छात्रबृति तथा उत्कृष्ठ शिक्षक सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
बिगत ८ बर्षदेखि गर्दै कोषले हरेक बर्ष दमकमा एक जना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्नुका साथै विपन्न बिद्यार्थीहरुको शैक्षिक प्रोत्साहन पुरयाँउन छात्रबृति कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएको हो ।
सोही अनुरुप यसबर्ष साहित्यकला संगम दमकको आयोजनामा हालै दमक १ स्थित हिमालय माविको सभाकक्षमा एक कार्यक्रम गरि उत्कृष्ट शिक्षकका रुपमा पृथ्वी माविका शिक्षक डम्बर राईलाई ५ हजार नगद, सम्मानपत्रसहित पुरस्कृत गरेको छ भने हिमालय मावि र पृथ्वी मावि दमक ७ का १० ,१० गरि जम्मा २० जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सहयोग स्वरुप जनही रु ३ हजार छात्रवृत्ति वितरण गरिएको कोषका संस्थापक मध्येका गणेश न्यौपानेले जानकारी दिए ।
साहित्य कला संगम दमकका अध्यक्ष नरपति पाण्डेको सभापतित्व र पूर्व प्रधानाध्यापक छविलाल शर्मा सिटौलाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सामाजिक तथा राजनीतिक व्यक्तित्वहरु प्रकाश प्रसाइँ, धु्रव न्यौपाने, शिक्षक दुर्गा काफले , हिमाल माविका प्रअ द्रोण श्रेष्ठ,सिताराम खतिवडा,दिपक नेपाल लगायतको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा साहित्यकला संगमकी सदस्य गीता कुँवरले स्वागत मन्तव्य राखेकी थिइन भने सचिव ओम खनालले सञ्चालन गरेका थिए ।
आफनी माताको स्मृतिमा छोराहरु गणेश , भिम , चण्डीप्रसाद र डा. लेखनाथ न्यौपानेले कोष स्थापना गरेका हुन् । साथै उक्त कार्यक्रममा सुर्यदर्शन सहकारीको तर्फबाट शैक्षिक सामाग्री सहित झोला बितरण गरिएको थियो ।
