दमकमा किओच बाल अस्पतालमा निशुल्क स्वास्थ्य शिविर, पहिलो दिन ३३० जना लाभान्दित

दमक,१९ चैत । झापाको दमक -७ मा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरको आज पहिलो दिननै ३३० जना सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका छन् ।
अस्पताल शुभारम्भका अवसर पारेर तीन दिनसम्म सञ्चालन गरिएको निशुल्क बाल स्वास्थ्य शिविरमा १ सय ६३ जना बालबालिका र जुनसुकै उमेर समूहका १ सय ६७ जना सर्वसाधारणहरुले मुटु सम्बन्धी समस्याको लक्षण भएकाहरुले शिविरबाट लाभ लिएका हुन् ।
शिविरमा विशेषज्ञ डाक्टरहरुले सेवा दिएका छन् । शिविरमा बालबालिकाकमा ओपिडी, इसिजी, ल्याव र इकोको सेवा प्रदान गरिएको थियो भने मुटुका बिरामीहरुकालागि ओपिडि, इसिजी र इकोको सेवा दिइएको थियो । त्यसैगरि, बिरामीहरुलाई आवश्यक पर्ने औषधि पनि निशुल्क प्रदान गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल सञ्चालन गर्ने काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष समेत रहेका वरिष्ठ मुटु रोग विशेष डा.भगवान कोइरालाले शिविरमा सर्वसाधारण नागरिकहरुको उच्च सहभागिता हुनुले यस क्षेत्रमा यसको आवश्यकता र महत्वलाई उजागर गरेको बताए । अस्पताल परिसरमा पत्रकारहरुसँगको कुराकानीमा डा. कोइरालाले अस्पताल आफनो उद्धेश्य र लक्ष्य अनुरुप अघि बढने प्रतिबद्धता जनाए । उनले भने ,–‘सामाजिक क्षेत्र र यसखाले सेवाका काममा आफूले दमक र दमकबासीका बीचमा अत्यन्तै सौहार्दता र सकारात्मक भावना पाएको कारणनै यो अस्पताल सञ्चालनका लागि उर्जा मिलेको छ ।’ अस्पतालमा बालबालिकासँग सम्बन्धित सबै खाले बिरामीको स्वास्थ्य परीक्षणसँगै उपचार सेवा प्रदान गरिने डा. कोइरालाको भनाई छ ।शिविरमा डा. कोइरालासहित आधा दर्जन बढी बाल तथा मुटु रोग विशेषज्ञहरुले प्राविधिक सहयोग पुरयाँएका छन् ।
२५ शैयाको यस अस्पताल सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले तीस बर्षका लागि भवन निशुल्क दिएको छ । रेडक्रस उपशाखा सभापति प्रकाश बुढाथोकीले अस्पतालको व्यवस्थापन पक्षले यसको सञ्चालन गरेता पनि सम्पूर्ण दमकबासीले यसमा गर्व गर्न पाएको बताउँछन् ।
यो अस्पताल प्रादेशिक बाल अस्पतालका रुपमा सञ्चालनमा आएको बताउँदै दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले यसलाई यो बर्षको दमक नगरकै गौरवका योजनाका रुपमा यसलाई लिइएको बताए ।

Leave a Reply

Your email address will not be published.