प्रदेश १ मा वडातहै सम्म तालमेल गर्ने निर्णय

झापा, १९ चैत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये चार दलले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् ।
गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाबाहेक चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रदेश १ मा चुनावी तालमेल वडा तहसम्मै गर्ने निर्णय गरेका हुन् । शनिबार इटहरीमा बसेको चार दलको बैठकले प्रदेश १ का पालिकामा चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेको नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले जानकारी दिए । उनका अनुसार बैठकले गठबन्धनमा रहेकाबाहेक अन्य दलसँग चुनावी तालमेलको बाटो पनि बन्द गरेको छ ।
‘हाम्रो आज बैठक बस्यो। बैठकले तल्लो तहसम्मै गठबन्धन गरेर जाने निर्णय गरेको छ’, उपाध्यक्ष डाँगीले भने, ‘पहिलो निर्णयमै गठबन्धनमा रहेका दलबीच मात्र सहकार्य गरेर स्थानीय निर्वाचनमा जाने भनेका छौँ।’बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) र संघीय लिम्बुवान राष्ट्रिय मञ्चलाई पनि सँगै निर्वाचनमा लान पहल गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश १ का चारै दलका शीर्ष नेता सहभागी बैठकले पालिकासम्म ‘निर्वाचन परिचालन समिति’ गठन गर्ने निर्णय गरेको छ । बैठकले चुनावी तालमेलको ‘मोडालिटी’ बनाउन पार्टीका प्रदेश प्रमुखसँगै हरेक दलबाट एक–एक जना सदस्य रहनेगरी ‘मोडालिटी निर्माण समिति’ र तालमेल कार्यान्वयनका लागि ‘अनुगमन संयन्त्र’ पनि गठन गरेको छ ।
‘मोडालिटी निर्माण समिति’ मा नेपाली कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा र महासचिव उमेश थापा, माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, नेकपा एकीकृत समाजवादीबाट प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टी ९जसपा० बाट प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ र उपाध्यक्ष उमेशकुमार थापा छन्।
यस्तै ‘अनुगमन संयन्त्र’ मा चारवटै दलका प्रदेश प्रमुख रहने निर्णय गरिएको माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष डाँगीले जानकारी दिए । उनले सत्ता गठबन्धनमा रहेका दलले चुनावी तालमेलका लागि गरेको निर्णयभन्दा बाहिर कोही नजाउन् भनेर पनि संयन्त्र बनाइएको बताए ।

Leave a Reply

Your email address will not be published.