दमक, १८ चैत । नेपाली कांग्रेसले दमक नगरपालिकाका पछिल्ला गतिबिधि प्रति ध्यानाकर्षण भएको जनाएको छ ।स्थानीय पार्टी नेतृत्वले बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुसिल निरौलामार्फत नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले पछिल्लो समय नगरपालिकाका गतिविधिहरूमा सहकार्य, समन्वय ,सहमतिको अभाव देखिएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको उल्लेख छ ।
कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, प्रदेशसभा सभापति रवि न्यौपाने, दमक नगर उपसभापति युवराज खनाल ,सचिव दिपेश दाहाललद्धारा संयुक्त हस्ताक्षरमा बुझाईएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले प्रवाह गर्ने सार्वजनिक महत्वका विषयमा जानकारी नदिएको, एकलौटी ढंगले कार्यसम्पादन गरिआएकाले त्यस कार्यले हिजोको दलीय गठबन्धनको अभिमतलाई गंभीर रुपमा लत्याएको आरोप लगाइएको छ ।
नगरको वृहत्तर हितमा सवैको भावना ,एकता र सहकार्य हुन सकेमात्र दमकले विकास र समृद्धि प्राप्त गर्न सक्ने भएको ध्यानाकर्षण पत्रमा भनिएकोछ ।जनप्रतिनिधिहरुले स्थानीय शासन ऐनले निर्धारण गरेका अधिकार तथा कर्तव्यको पालना गर्दै पारदर्शी , उत्तरदायी ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरुले नगरवासीको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने औल्याईएको छ ।
आगामी दिनमा सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्न पनि बिज्ञप्ति मार्पmत कांग्रेसले आग्रह गरेको छ । नगरसभा र अन्य निर्णय प्रक्रियामा उपप्रमुख तथा सम्बन्धित पक्षहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।
त्यसैगरी, जनताको दैनिक जीवनसँग सम्बन्धित सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउन तथा सुशासन, विकास र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।बिज्ञप्तिमा लोकतान्त्रिक मूल्य, विधि र प्रक्रियालाई सम्मान गर्दै सहकार्य र समन्वयमार्फत नगरको दीर्घकालीन हितमा काम गर्न सबै जनप्रतिनिधिहरूलाई आग्रह गरिएको छ ।
कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरौलाले आफुले आवश्यक समन्वय गरिरहेको भन्दै भोलिका दिनमा आपसी द्वन्द नआउने किसिमले काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्र नगर प्रमुख रामकुमार थापा समक्ष पु¥याउने उल्लेख गरे ।