कमलमा २६ वटा आगलागीका घटना ,सर्तकता अपनाउन आग्रह

दमक ,१८ चैत । कमल गाउँपालिकामा दश महिनाको अवधिमा २६ वटा आगलागीका घटना भएका छन् ।पालिकाको बारुणयन्त्र शाखाका अनुसार सो अवधिमा घर,गोठ,परालको कुन्यु, विद्युत पोलमा गरि २६ वटा घटना हुदाँ लाखौ मूल्यको क्षति भएको छ ।
गाउँपालिका कार्यालयले केहि घटना प्राकृतिक कारणले र कतिपय घटना भुलबश, पर्याप्त साबधानी र सतर्कता नअपनाएका कारण र बिद्युत जडानको क्रममा भएको त्रुटीका कारण पनि हुन पुगेको देखिएको त्यसतर्फ सर्तकता अपनाउन आग्रह गरिएको छ । आगलागीका घटनाबाट अकल्पनीय ठुलो जनधनको क्षति हुने गरेको भन्दै पालिकाका अध्यक्ष हुकुमसिंह राईले अपिल निकालेर हावाहुरीका समयमा झनै सर्तकता अपनाउन जरुरी भएको उल्लेख गरेका छन् ।
चैत्र,बैशाख,जेठसम्म खडेरी र हावा, हुरीबतास, चट्याङ्ग जस्ता विपतका घटना हुने समय भएकाले त्यस समयमा आम नागरिकहरु अझै चनाखो हुन जरुरी भएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन् , –‘ हावाहुरीका समयमा आगो बाल्दा केटाकेटीले भेट्ने र देख्ने ठाउँमा सलाई, लाईटर जस्ता ज्वलनशील समानहरु नराख्ने, आफुले बालेको चुलो, ग्याँस, चुरोट बिडीका ठुटो राम्ररी निभाउने गर्नु पर्दछ ।’
आगजनीबाट हुन सक्ने जोखिम नियन्त्रणमा परिवार,समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले सम्पूर्ण कमलबासीहरु सबैमा पालिकाले सार्वजनिक सूचना निकालेर अपिल समेत गरेको छ ।कुनै कारणवस आगलागी लगायतका घटना घटेमा गाउँपालिकाको बारुण यन्त्र , नजिकको प्रहरी कार्यालय, वडा कार्यालय,कर्मचारी तथा जनप्रतिनिधिहरुलाई सोझै फोन सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.