
कमल, १८ चैत । झापाको कमल ५ सिम्लेमा प्रथम सिम्ले यूनाईटेड गोल्डकप फूटवल प्रतियोगितामा मोरङको मधुमल्ला फूटवल क्लवले विजयी शुरुवात गरेको छ । स्थानीय सिम्ले खेल मैदानमा आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई हराउदै मधुमल्ला विजयी भएको हो ।
निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल ट्राइवेकरमा परिणत भएको थियो । ट्राइवेकरमा आयोजक विरुद्ध १ गोल अग्रता गरि दोश्रो चरणमा प्रवेश गरेको खेल संयोजक आइतहाङ सम्बाहाम्फेले बताए । खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलकिपर युवराज तामाङ घोषित भए । प्रतियोगिताका विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा झापा, मोरङ र इलाम जिल्लाका ८ वटा फूटवल टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल २६ चैतमा हुने छ ।
यसैगरि ,भोलि शनिवारको खेल दमक ३ दुम्से स्थित चुलाचुली फूटवल क्लव र इलामको चुलाचुलीस्थित फूटवल क्लववीच प्रतिष्पर्धा हुने क्लवका अध्यक्ष राजकुमार सम्बाहाम्फेले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा सामाजिक अगुवा हुकुमसिंह राई लगायतले प्रतियोगिताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कमल ५ का वडाध्यक्ष डम्बर निरौला, चुलाचुली युवा व्यक्तित्व राजेन्द्र केरुङ,कमल ५ का वडा सदस्य चिराहाङ लावती, पत्रकार महासंघ प्रदेश १ का सदस्य बिष्णु सुब्बा, पत्रकार बिष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो । उद्घाटनमा चुलचुली ४ का जेम्स डान्स सेन्टरका स–सना भाइवहिनीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
पत्रकार सुब्बाद्धारा फूटवल प्रदान
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका सदस्य तथा माइपश्चिमका पूराना पत्रकार बिष्णु सुब्बा ( आङदेम्बे) ले प्रतियोगितामा दुई थान फूटवल प्रदान गरेका छन् । फूटवल खेलाडीहरुलाई प्रोत्साहन दिन उनले व्यक्तिगत ढंगले २ थान फूटवल आयोजकलाई फूटवल उपलव्ध गराएका हुन् ।
मदिरा व्यवसायी समेत रहेका कमल ५ मंगलवारे निवासी पत्रकार सुब्बाले खेल संयोजक आइतहाङ सम्बाहाम्फेलाई फूटवल हस्तान्तरण गरे । त्यसक्रममा फूटवल बुझ्दै संयोजक सम्बाहाम्फेले पत्रकार सुब्बाले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुरयाँउनुभएको योगदान प्रति धन्यवाद दिएका थिए ।
