
दमक, १८ चैत । मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले यहाँ सञ्चालित दमक गोल्डकपको उपाधि हात पारेको छ । आज भएको उपाधि खेलमा डिफेन्डिङङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङले उपाधि प्राप्त गरेको हो ।
जितका लागि मनाङका विदेशी खेलाडी अफिज ओलावलले र शिशिर लेखीले गोल गरेका थिए । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९ औँ मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे भने ६७ औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरेका थिए ।
जितसँगै मनाङले रु १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले रु ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फर्वड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए । उनीहरुले जनही रु २१ हजार प्राप्त गरेका थिए । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी घोषित भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरे भने उदयीमान खेलाडीका रुपमा आयोजक दमक–११ का राहुल लिम्बु घोषित भए । उनले पनि माउन्टेनबाइक प्राप्त गरे ।
यसैगरि, आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिपमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक–११ प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका थिए ।
गत चैत ९ गते सञ्चालन भएको उक्त प्रतियोगिता ४ विदेशीसहित ८ वटा टिमको सहभागिता रहेको थियो । प्रदेश १ कै सर्वाधिक राशी रहेको उक्त गोल्डकपको यस प्रतियोगिता दोश्रो संस्करण भएको जनाईएको छ ।