इलाम कारागारबाट थुनुवा फरार

इलाम,१७ चैत । इलाम कारागारबाट एक कैदी फरार भएका छन् । देशकै नमुना सुधारगृह बनाइएको इलाम कारागारबाट थुनुवाका रुपमा रहेका झापा, मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय मनराज राई फरार भएका हुन् ।
विहीबार साँझ कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको कारागार प्रशासनले जनाएको छ ।
गणनाका क्रममा उनी फेला नपरेपछि फरार थुनुवाको खोजतलास भइरहेको इलामका एसपी दिलिप घिमिरेले जानकारी दिए । उनले सिसि टिभी फुटेज हेर्दा बिहिबार नै कैदी भागेकोसमेत देखिएको बताए । उनले कारागारबाट कैदी फरार भएको घटनाका बारे आवश्यक अनुसन्धान शुरु गरेको जानकारी दिए ।
डाँका मुद्दामा सजाय भोगीरहेका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा केहि दिनअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो ।
जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा छानविन गरिए पनि उक्त भिडियो १० महिना अगाडीको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published.