
झिलझिले ,१७ चैत । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ र १० को एकै दिन भवनको शिलान्यास गरिएको छ । बुधबार छुट्टाछुट्टै कार्यक्रमका वीच ती दुवै वडाको निर्माण हुने भवनको नगरप्रमुख चन्द्रकुमार शेर्माले शिलान्यास गरे ।
यी दुईवडाको जग्गा व्यवस्थापन गर्न ढिलाई भएकाले अपेक्षा गरे अनुसार पाँच वर्ष भित्रैमा आफ्नै भवनबाट सेवा पुरयाँउन नसकिएको नगर प्रमुख शेर्माले बताए । उनले अव भने निकट भविष्यमा आउने वडा पालिकाले नयाँ भवनमा आफ्नो सेवा सञ्चालन गर्नपाउने गरि निर्माणको काम शुरु गरिने बताए ।
नगरका ११ वटै वडा मध्ये आफ्नै वडा नम्बर ९ र १० बाहेक अन्य वडा कार्यालयले यतिबेला आफ्नै भवनमा छन् ।
१० नम्बर वडाको कार्यालय भवन निर्माणको ठेक्का झापा गाँउपालिकाको रुस्तम निर्माण सेवाले पाएको छ । भवनको लागत भ्याटबाहेक रु १ करोड २६ लाख ८२ हजार ५ सय ३६ रहेको छ ।
दुई तला निर्माण हुने भवनमा एउटा सभाहलसहित ८ कोठा हुने छन् । त्यस्तै ९ नम्बर वडाको भवन रु १ करोड २९ लाखमा दुधेको शिवभक्त निर्माण सेवाले ठेक्का पारेको पालिकाले जनाएको छ ।