फोनिज झापाको पदस्थापन सम्पन्न

दमक ,१७ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) झापाको नवनिर्वाचित जिल्ला कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।फोनिज झापाले शनिवार विर्तामोडमा नवनिर्वाचित समितिको सम्मानमा पदस्थापन कार्यक्रम गरि अर्जुन राजवंशी नेतृत्वको जिल्ला समितिलाई निर्वाचित प्रमाणपत्र वितरण गर्नुका साथैं औपचारिक रुपमा पदस्थापन गरिएको हो ।

निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक विष्णु सुब्बाले निर्वाचित प्रमाणपत्र प्रदान गरे ।फोनिज झापाको गत माघ १९ गते ७ औ जिल्ला अधिबेशनले राजवंशीको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको थियो । चुनावी सो अधिबेशनको उद्घाटनमा फोनिज झपाले रजत वर्ष स्मरिका समेत सार्वजनिक गरेको थियो । स्मारिकामा फोनिज झापाको हालसम्मको सवै गतिविधि समावेश गरिएको छ ।

फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा भएको पदस्थापनमा फोनिजका सल्लाहकार मदन गोपाल सुब्बालाई सम्मान गरिएको थियो । कार्यक्रममा फोनिज झापाकी निवर्तमान अध्यक्ष भूमिका सुब्बाले बैठक पुस्तिकासहितका कागजातहरु अध्यक्ष राजवंशीलाई प्रदान गरेकी थिइन् ।
सो अवसरमा फोनिजका पूर्व जिल्ला अध्यक्षहरु गणेशमान मुखिया, रमेश समदर्शी राई, निर्वाचन समितिका संयोजक विष्णु सुब्बा ,सल्लाहकार मदनगोपाल सुब्बा लगायतले निर्वाचित समितिलाई बधाई शुभकामना दिदै फोनिजको वृद्धिविकासमा टेवा पुरयाँउन लाग्नु पर्ने औल्याएका थिए ।

त्यसैगरि, नवनिर्वाचित अध्यक्ष राजवंशीले फोनिज झापाको हितमा काम गर्ने प्रतिवद्धता जनाएका थिए भने निर्वतमान अध्यक्ष भूमिका सुब्बाले फोनिज झापाको यस यात्रामा आफू सधै उतिकै जिम्मेवार भएर योगदान दिने विचार राखिन् ।सोहि अवसरमा फोनिज झापाले पहिलो बैठक बसेर विभिन्न निर्णयहरु गरेको उपाध्यक्ष तिलक योञ्जनले बताए ।

Leave a Reply

Your email address will not be published.