नेकपा एसका अध्यक्षसहितका नेताहरु झापा आउदै

दमक,१६ चैत । नेकपा एकीकृत समाजवादीले झापाको चन्द्रगढीमा भोलिदेखि दुई दिनसम्म आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरु झापा आउने भएका छन् ।
एकीकृत समाजवादी जिल्ला कमिटी झापाले शुक्रबार र शनिबार चन्द्रगढीमा आयोजना गरेको संगठन सुदृढीकरण तथा परिचालन अभियानको क्रममा पार्टीका अध्यक्ष नेपाल , सम्मानित नेता खनालसहित , उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुषाल, उपमहासचिव जग्गनाथ खतिवडा, पोलिटब्युरो सदस्य धर्म निरौला लगायतका नेताहरु झापा आउने भएका हुन् ।
शुक्रबार पार्टी अध्यक्ष नेपालले भब्य समारोहबीच अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो प्रशिक्षण कार्यक्रमको समापन शनिबार हुने भएको छ ।

प्रशिक्षण समापनको अवसरमा पार्टीका सम्मानित नेता खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरका बीच अध्यक्ष नेपाल सहित अन्य नेताहरुले विभिन्न पार्टी परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश गराउने भएको छ ।

जिल्ला कमिटी झापाका सचिव बिपी भट्टराईका अनुसार शुक्रबार र शनिबार हुने संगठन सुदृढीकरण तथा परिचालन अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । चन्द्रगढीको देबकोटा चौकमा रहेको मुना भवनमा हुने दुई दिने प्रशिक्षण कार्यक्रममा झापाका १५ वटै पालिका कमिटी, पार्टी सम्बद्ध विद्यार्थी, महिला, किसान, शिक्षक, सहकारीकर्मी, मजदुर, पत्रकार र अन्य विभिन्न जातीय संघसंगठनहरुका प्रतिनिधिहरुको उपस्थिति रहन् जनाईएको छ ।
एकीकृत समाजवादी झापाका सचिव भट्टराईका अनुसार झापाका अगुवा कार्यकर्ताहरुलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । पार्टी संगठनलाई मजबुत र गतिशील बनाउदै नेपालमा कम्युनिष्ट आन्दोलनलाई सार्थकता पुर्याउन एकीकृत समाजवादीको अभियानमा रुपान्तरण गर्न कार्यक्रमले सहयोग पुग्ने उनले बताए ।

एकीकृत समाजवादीको हालै सम्पन्न जिल्ला कमिटीेका बैठकले आगामी जेठ मसान्तभित्र जिल्ला अधिवेशन गर्ने र त्यसअघि जिल्लाको सवै पालिका स्तरीय कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णयका साथ मातहतका कमिटीहरुलाई सर्कुलर जारी गरिसकेको जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।

उनले एमालेमा विबादित र विभाजित भएर नयाँ पार्टी गठन र पुनःगठन पश्चात तिनै तहको निर्वाचनमा होमिनुपर्ने र संगठन निर्माण लगायतका गतिविधिहरुमा समेत सक्रियता देखाउनुपर्ने लगायतको मह्त्वपूर्ण जिम्मेवारीहरु पूरा गर्दै आइरहेको बताए ।
अध्यक्ष रेग्मीका अनुसार नेकपा एस झापाले एक वार्ड–एक सय संगठित सदस्य निर्माण गर्ने अभियान सञ्चालन भइरहेको छ । हाल, पार्टी सदस्यहरुको अभिलेखिकरण गर्न सदस्यता नविकरण र सदस्यता विस्तारका निम्ति समेत नयाँ सदस्यता वितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.