गौरादह ,१६ चैत । जिल्लाको गौरादह– ६ दामुना बजारमा एक करोड चौबिस लाखभन्दा बढीको लागतमा निर्मित प्रहरी चौकी कोहवराको भवन उद्घाटन गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले प्रहरी भवनको उद्घाटन गरेका हुन् । उनले बिगत ३४ वर्षदेखि भाडाको घरमा वस्दै आई आजबाट आफ्नै नवनिर्मित भवनबाट जनताको सेवा गर्न पाउँदा प्रहरी संगठन खुसी भएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको अध्यक्षतामा भएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजबंशीको बिशिष्ट आतिथ्यता रहेको थियो । उक्त अढाइ तले भवन १ करोड २४ लाख ९० हजार ५८० रुपैयाँको लागतमा निर्माण भएको थियो । भवनका लागि स्व. टेकनारायण ताजपुरियाले ३ कट्ठा २ धुर जग्गा निःशुल्क प्रदान गरेका थिए ।
त्यस अवसरमा जग्गादाता स्व. टेकनारायण ताजपुरियाकी श्रीमती चम्पादेवी ताजपुरियालाई सम्मान गरिएको थियो ।कार्यक्रममा जिल्लाका ४ वटै सुरक्षा निकायका प्रमुखहरुलगायत स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।