
दमक,१५ चैत । इलाका प्रहरी कार्यालय दमकको प्रमुखको जिम्मेवारी दिलीपकुमार गिरीले सम्हाल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार झापाको दमक ,बिर्तामोड र काँकडभिट्टासहित देशभरिका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको हो । लामो समयदेखि नियमित सरुवा गर्न नसकेको प्रहरी नायव उपरीक्षक (डीएसपी )को सरुवा गरेको कार्यालयले जनाएको छ ।
जसअनुसार इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीको प्रहरी प्रधान कार्यालय अपराध अन्वेषण विद्यालय तथा विकास शाखा काठमाण्डौ सरुवा भएको छ भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीबाट दिलिपकुमार गिरीलाई पठाएका छन् ।
झापाको महत्वपूर्ण मानिएको इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड) का डीएसपी सन्तोष आचार्यको जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा भएको छ भने केन्द्रीय अनुसन्धान व्युरो मानव श्रोत व्यवस्थापन शाखाबाट रुगमबहादुर कुँवर बिर्तामोड आउँदैछन् ।
यता झापाको प्रमुख नाकाको रुपमा रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहाललाई १ न. प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा गरिएको छ । उनको ठाउँमा २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ज्ञानकुमार महतो आउन लागेका छन् ।