झापा,१५ चैत । दुर्गा प्रसाईको मुख्य नेतृत्वमा शुक्रबार भएको राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
२९ वर्षीय महर्जन राजावादीको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।यसैगरी शुक्रवार दिउँसो राजावादीबाट आगजनी भएको घरसँगै पत्रकार सुरेश रजकको शव फेला परेको छ । रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।
पत्रकारको खुट्टा भाँचियो
काठमाडौँको तीनकुनेमा राजावादीको अराजक समूहको आक्रमणमा परेर पत्रकार दिनेश गौतमको खुट्टा भाँचिएको छ। आज शुक्रबार दिउँसो भएको राजावादी प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका अनलाइन खबर डटकमका पत्रकार गौतम आक्रमणमा परेका हुन्।
अनलाइनखबरका अनुसार राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास प्रहार गर्ने ुगनु खोसेको तस्बिर कैद गरेका गौतमलाई प्रहरीको सीआईडी भन्दै कुटपिट गरेका थिए।
त्यसलगत्तै सुरक्षाकर्मीको टोली आएर अश्रुग्यास प्रहार भएपछि गौतम भागेका थिए। भागेर कोटेश्वरतर्फ जाने क्रममा उनलाई अराजक बनेका प्रदर्शनकारीले उनलाई लखेटिरहेका थिए।
भागिरहेका गौतमलाई अनलाइन खबरका अर्का पत्रकारसहितको टोलीले महादेवस्थान छिर्ने बाटोतर्फ लगेका थिए।घाइते भएका उनलाई नजिकैको एभरेष्ट अस्पतालमा लगिएको थियो। अस्पतालमा चिकित्सकले खुट्टा भाँचिएको जानकारी गराएका थिए।
प्रदर्शनकारीले तीनकुनेमा रहेको कान्तिपुर र अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड गरेका थिए।
थप चार जना प्रहरी नियन्त्रणमा
प्रहरीले शुक्रबार हिंसा भड्काएको आरोपमा थप चार जनालाई नियन्त्रणमा लिएको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवराज सुवेदी र स्वागत नेपाललाई नियन्त्रणमा लिएको छ
सुवेदी पूर्वराजाको समर्थकहरूको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक हुन् भने नेपाल प्रवक्ता हुन्।प्रहरीका अनुसार, सेफड लिम्बु र सन्तोष तामाङ नाम गरेका व्यक्ति पनि पक्राउ परेका छन्।
लुटपाट, आगजनी लगायतका घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
राप्रपा नेताद्वय रवीन्द्र र धवलशमशेर पक्राउ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले उनीहरूलाई पक्राउ गरेर राखिएको पुष्टि गरे ।
दुर्गा प्रसाईं फरार
पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने कमान्डर मध्येका दुर्गा प्रसाईँ फरार भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले शुक्रवार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको छ । प्रप्रहरीका विभिन्न युनिटका अधिकृतहरूले उनको खोजी तीव्र बनाएका छन् ।
संयोजक प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए । उनले भने, ‘तोडफोड र लुटपाटमा संलग्नहरूबारे सूक्ष्म निगरानी गरिरहेका छौँ, आपराधिक काममा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउँछौँ ।’