दमक ,१५ चैत । झापाको कमल गाउँपालिका- ५ सावित्रा चौकस्थित समाधिस्थलमा शुक्रवार सरसफाई गरिएको छ । समाधिस्थलमा फोहोरमैला बढ्दै गएको र त्यसले वातावरणीय दुर्गन्ध बढाएको भन्दै स्थानीय जातिय संस्थाको अगुवाइमा सरसफाई गरिएको हो ।
किरात याक्थुङ चुम्लुङ,किरात राई यायोक्खा कमलसहित स्वर्गीक मार्ग संघ नेपाललगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको वृहत उपस्थितिमा समाधिस्थल क्षेत्रको सरसफाई गरिएको यायोक्खा कमलका अध्यक्ष हरि राईले बताए ।
उनका अनुसार सरसफाईमा करिव एक सय जनाले विहानभरि श्रमदान गरेका छन् । उनीहरुले समाधिस्थलका चिहान क्षेत्रका झारपात नष्ट गर्नुका साथैं मलामीलाई खाजाका रुपमा दिइने पानीका बोतल,विस्कुटका खोलहरु संकलन गरि नष्ट गरिएको थियो । समाधिस्थलमा निर्माण गरिएको शौचालयको फोहोर समेत सफाई गरिएको थियो ।सरसफाईमा युवायुवतीहरु तथा ज्येष्ठहरु समेत सफाईका लागि औजार लिएर सहभागिता जनाएका थिए ।
समाधिस्थल क्षेत्रलाई नियमित रुपमा सरसफाई गरि स्वच्छ तथा हराभराका रुपमा विकास गर्न जनचेतनासहितको वृहत सरसफाई गरिएको सगुन युवा क्लवका अध्यक्ष देबेन्द्र राज आङदेम्बेले बताए । यस किसिमको सरसफाईलाई नियमित रुपमा सञ्चालन गर्दे लैजाने उनको भनाई छ । सरसफाई अभियानमा स्थानीय व्यवसायी सुभाष राईसहितका युवाहरुले पानी र विस्कुट उपलव्ध गराएका थिए ।
सरसफाईमा किरात याक्थुङ चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र मावोहाङ,किरात राई यायोक्खा प्रदेश अध्यक्ष पारषमणि राई, आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राई, यायोक्खा दमक नगर अध्यक्ष बासुदेव राई लगायतको उल्लेखीय सहभागिता रहेको थियो ।
कमलसहित दमकका आदिवासी जनजातिहरुले त्यहाँ बर्षोदेखि मृत्यु संस्कार (समाधि ) गरिआएका छन् । तर, त्यहाँ पितृको सम्झनामा बनाउने पक्की चिहान बनाउने अस्वस्थ्य प्रतिष्पर्धाले दिनानुदिन बन क्षेत्र मासिदै गएको छ । क्रकिट चिहानले जंगल क्षेत्र झनै कुरुप बनाउदै लगेपनि जातिय संस्थाहरुले यसप्रति अझै चासो देखाएका छैनन् । कतिपयले चिहानलाई व्यवस्थित बनाउन कपुरखानमा एकरुपता,चिहानसंगै वृक्षरोपण गर्नेतर्फ सामाजिक रुपले नियमनै बनाएर चिहान व्यवस्थित गर्न चासो दिनुपर्ने उनीहरुको भनाई छ ।