बिर्तामोड ,१४ चैत। नारी सञ्चार गृह झापाको नयाँ नेतृत्व चयन भएको छ । विर्तामोडमा मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले रेजिना गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नारी सञ्चार गृह झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ चुनिएकी छन् । यसैगरी समितिका सदस्यहरुमा भारती राई, टिका पोखरेल, अनुषा चुडाल, दिपा पोखरेल, विनिसा गौतम मिना विश्वकर्मा निर्वाचित भएकी छन् । संस्थाको विधान बमोजिम पहिलो बैठकले एकजना सदस्य मनोनयन गर्नेछ ।
नयाँ नेतृत्व चयन गर्न संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालको संयोजकत्वमा मोहनकाजी न्यौपाने, ज्ञानेन्द्र निरौला, राजु पाठक सदस्य रहेको एक निर्वाचन समिति गठन गरिएको थियो।
संस्थाकी अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द्र छेत्री, महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन प्रदेश नम्बर १ का उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले शुभकामना मन्तब्य राख्दै पत्रकारिता क्षेत्रका समस्या समाधानमा सहकार्य जरुरी रहेको बताएका थिए ।कार्यक्रममा सचिव भूमिका सुब्बाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्ष जोश्ना श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो ।